वीरगन्ज-
नेपालकी सविता ह्यान्जु र अल्बिना राजथलाले एशियन पावरलिफ्टिङ च्याम्पियनसिपको ओपन पावरलिफ्टिङमा स्वर्ण जितेका छन् ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा शनिवार भएको च्याम्पियनसिपको ओपनतर्फ सविताले ६४ केजी तौलसमूह र अल्बिनाले ७२ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । सविताले नेपालकै पुनम बोमजन र प्रेमिका बिष्टलाई पछि पारिन् । सविताले ४८३ अंक प्राप्त गर्दा पुनमले ४३६ अंक र प्रेमिकाले ४११ अंक पाइन् । अल्बिनाले भने कुल तीन सय ६९ केजी तौल उचाल्दै स्वर्ण जितेकी हुन् । स्क्वाड, बेन्च र डेड लिफ्ट गरेर कुलमा यो भार उचालिएको हो । भेषकुमारी अस्लामीले ३५५ केजी र महिमा सिन्तानले ३३५ केजी भार उचाल्दै क्रमशः रजत र कांस्य पदक जिते ।
त्यस्तै महिला मास्टर्स ६४ केजी तौलसमूहमा पुनम बोमजनले स्वर्ण र प्रेमिका बिष्टले रजत पदक जितिन् । पुनमले तीन सय ४१ केजी र प्रेमिकाले तीन सय २१ केजी तौल उचाले । महिला मास्टर्स ७२ केजी तौल समूहमा नेपालकी भेषकुमारीले स्वर्ण र भारतकी रेन्जु भर्घेसले रजत पदक जिते । भेष कुमारीले कुल ३५५ केजी र रेन्जुले २०७ केजी तौल उठाइन् । जुनियर पुरुष ६९ केजी तौल समूहमा भारतका पर्थ कृष्णले स्वर्ण जिते । यसै तौल समूहको मास्टर्समा नेपालका डा. जितेन्द्र शाह, मास्टर्स ४५ देखि ४९ वर्षको ६९ केजी तौल समूहमा बालकृष्ण तण्डुकार र मास्टर्स ९४ केजी तौल समूहमा ज्ञान रत्न शाहीले स्वर्ण जिते।
युथ पुरुषमा ६९ केजी तौल समूहमा अंकित योन्जनले स्वर्ण पदक जितेका छन् । यसअघि नेपालकी रुबीले ५३ केजी तौलसमूह र पुनमले ५८ केजी तौलसमूहमा स्वर्ण जितेका थिए ।
नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सको च्याम्पियनसिपमा पुनमले प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको तर्फबाट १० लाख बराबरको जीवन बीमा प्राप्त गरिन् । पदक वितरण समारोहको अवसरमा विजेताहरूबाट लक्की ड्रमार्फत पुनमले एक वर्षका लागि उक्त जीवन बीमा प्राप्त गरेका हुन् ।
खुलातर्फ नै पुरुष ६२ केजी तौलसमूहमा नेपालका किरण सुवालले स्वर्ण पदक जिते । विजेतालाई वल्र्ड पावरलिफ्टिङका अध्यक्ष रोबर्ट विल्क्स र आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्कीले पुरस्कार वितरण गरेका हुन् । नेपालमा पहिलोपटक एशियन पावर लिफ्टिङ च्याम्पियनसिप भएको हो । प्रतियोगितामा नेपालसहित भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत एसियाली मुलुकबाट एक सय २० बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगितामा पावरलिफ्टिङ, बेन्च प्रेस वन्ली र डेडलिफ्ट वन्ली गरी तीन विधामा प्रतिस्पर्धा भइरहेको छ ।