वीरगन्ज —
नेवार समुदायको समृद्ध सांस्कृतिक परम्परामध्ये एक लाखे नाच वीरगन्जमा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। नेवास् देय दबु वीरगन्ज महानगर कमिटीको आयोजनामा सम्पन्न यो कार्यक्रम गणेशमान चौकबाट सुरु भई बिर्ता मन्दिरसम्म सांस्कृतिक जुलुससहित सम्पन्न गरिएको हो।
परम्परागत संस्कृति संरक्षण र आगामी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेवारी समुदायका युवा, किशोर तथा बालबालिकाहरूको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागीहरूले परम्परागत नेवारी पोशाक, बाजागाजा, ढोल र भाकासहित लाखेको रूप धारण गरी आकर्षक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमले सम्पूर्ण नगरवासीको ध्यान तानेको मात्र नभई नगरमा उत्सवमय वातावरणको सृजना गरेको थियो। स्थानीयवासीहरूको बाक्लो उपस्थिति र सहभागिताले कार्यक्रमलाई थप भव्य बनाएको आयोजकहरूले जनाएका छन्।
कार्यक्रमका क्रममा आयोजक कमिटीका पदाधिकारीहरूले लाखे नाच सत्यको असत्यमाथि विजय, न्यायको अन्यायमाथि जित, तथा सुरको असुरमाथि विजयको प्रतीक भएको उल्लेख गर्दै, यस्ता सांस्कृतिक कार्यक्रमले समुदायबीच एकता, भाइचारा र सांस्कृतिक चेतना प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।
यसै अवसरमा वीरगन्ज महानगरपालिकाले पनि नगरको सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनप्रति आफ्नो प्रतिबद्धता जनाउँदै, वीरगन्जलाई बहुसांस्कृतिक सहअस्तित्वको केन्द्र बनाउने दिशामा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ।
कार्यक्रममा विभिन्न सामाजिक संस्था, स्थानीय अगुवा तथा नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकहरूका अनुसार आगामी दिनमा अझ व्यापक रूपमा यस्ता सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने छन्।