वीरगन्ज –
नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) मधेस प्रदेशले नयाँ नेतृत्व चयन गरेको छ । शनिवार वीरगञ्जस्थित होटेल पूजनमा सम्पन्न बैठकले सर्वसम्मत निर्णय गर्दै राहुल अग्रवालको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
निर्वाचन अधिकृत प्रज्वल अधिकारीका अनुसार, कार्यसमितिको प्रथम उपाध्यक्षमा विवेक बेरिवाल, द्वितीय उपाध्यक्षमा सन्तोष जयसवाल, महासचिवमा अभिषेक चौधरी, सचिवमा मुरारी कुमार रौनियार, कोषाध्यक्षमा दीपेन्द्र खेतान, सह–कोषाध्यक्षमा वीरेन्द्र कुमार रौनियार, जनसम्पर्क अधिकृतमा राजु गुप्ता र सञ्चार संयोजकमा सन्दीप अग्रवाल चयन भएका छन् । त्यस्तै, सदस्यमा विजय अग्रवाल, दीपेन्द्र कुमार खेतान, सञ्जय कुमार अग्रवाल, अनुप कुमार अग्रवाल, विकास ठाकुर, सन्दीप कुमार महतो, आनन्द अग्रवाल र रवि कुमार सिकारिया रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष राहुल अग्रवालले मधेस प्रदेशको अटोमोबाइल क्षेत्रलाई व्यवस्थित, पारदर्शी र समृद्ध बनाउन नयाँ टिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “व्यवसायीहरूको समस्या समाधान, सरकारसँग समन्वय र नीतिगत सुधार हाम्रो प्राथमिकता हुनेछ ।”
उनले नवगठित कार्यसमितिमा अनुभवी र ऊर्जावान् व्यक्तिहरू समेटिएकाले मधेस प्रदेशको अटोमोबाइल व्यवसायलाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । अग्रवालले ग्राहकमुखी सेवा, व्यवसायीबीच एकता र नवप्रवर्तनलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता पनि जनाए ।
निर्वाचन अधिकृत अधिकारीले सबै पदमा सर्वसम्मति कायम हुनु सकारात्मक भएको उल्लेख गर्दै नयाँ कार्यसमितिले प्रदेशमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित चुनौती समाधान गर्न र बजार विस्तार गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
नाडा मधेस प्रदेशले आगामी दिनमा व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि तालिम तथा कार्यशालासहित नीतिगत सुधार, बजार विस्तार र प्राविधिक नवप्रवर्तनलाई प्रोत्साहन गर्ने योजनासमेत बनाएको छ ।
नेपालको अटोमोबाइल बजारमा मधेस प्रदेश महत्वपूर्ण हिस्सा हो । वीरगञ्ज, जनकपुरलगायतका सहरहरूमा अटोमोबाइल व्यवसायले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएको छ । नयाँ कार्यसमिति गठनसँगै यस क्षेत्रको थप विकास र व्यवसायीहरूको हितमा सकारात्मक परिणाम आउने अपेक्षा गरिएको छ ।