काठमाडौं –
जेनजी आन्दोलनपछि नेपालका प्रमुख दलहरूमाझ नेतृत्व परिवर्तनको बहस चलेझैं जनमत पार्टीभित्र पनि नेतृत्व संकट सतहमा आएको छ।
पार्टीका वरिष्ठ नेताहरूले अध्यक्ष डा. सी.के. राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन्।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका संयोजक संजय कुमार यादवसहितका शीर्ष पदाधिकारीहरूले संयुक्त रूपमा पत्र जारी गर्दै राजीनामाको माग गरेका हुन्।
उनीहरूको भनाइमा, जेनजी आन्दोलनपछि देशको राजनीतिक परिस्थितिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै पार्टीभित्र पनि शुद्धीकरण अपरिहार्य बनेको छ। पत्रमा हालसालै देखिएको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावनाविपरीतका गतिविधिका कारण पार्टी आफ्नो मूल उद्देश्यबाट विचलित भएको आरोप लगाइएको छ।
नेताहरूका अनुसार, जनमत पार्टीलाई सशक्त, लोकतान्त्रिक र जनताप्रति जवाफदेही बनाउन नयाँ नेतृत्व आवश्यक छ। यस घटनाले पार्टीभित्रको आन्तरिक विवाद सतहमा ल्याएको र यसको असर पार्टीको भविष्यमा गहिरो पर्ने अनुमान गरिएको छ।
यसैबीच, वरिष्ठ नेताहरूले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यलाई पुनर्गठन र सुदृढीकरणको प्रक्रियामा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्।