२०८२ आश्विन १ गते, बुधबार १९:५१

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीको सहभागितामा संविधान दिवस मनाइने

काठमाडौं-

संविधान जारी भएको दिनलाई सम्झना गर्दै यस वर्ष पनि संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ देशव्यापी रूपमा विविध कार्यक्रमसहित मनाइँदैछ।

गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीका अनुसार संविधान जारी भएको दिन असोज ३ गते बिहान सैनिक मञ्च, टुँडिखेलमा मूल समारोह आयोजना हुनेछ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथ्य रहनेछन् भने प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

विशेष राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै यस वर्ष झाँकीलगायतका गतिविधि सीमित गरिने बताइएको छ।

गत भदौ ८ गते अघिल्लो सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ मूल समारोह समिति गठन गरेको थियो। यस समितिले संविधान घोषणा भएको एक दशक पुगेको अवसरलाई विशेष उत्सवका रूपमा मनाउने तयारी गरेको हो।

नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट घोषणा भएको थियो। नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिको प्रतीकस्वरूप जारी गरिएको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारशिला निर्माण गरेको मानिन्छ।

यस विशेष अवसरमा संविधान कार्यान्वयनपछिका उपलब्धि, कमजोरी र चुनौतीहरूबारे बहस, छलफल र अन्तरक्रियासमेत हुने तयारी छ। साथै प्रदेश र स्थानीय तहहरूमा समेत संविधानको ऐतिहासिक पृष्ठभूमि, महत्व र अन्तरनिहित पक्षहरूलाई केन्द्रमा राखी विभिन्न कार्यक्रम आयोजना हुने जनाइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस