वीरगन्ज-
श्रद्धा, भक्ति र सम्पूर्ण तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने छठ पर्वको मुख्य दिन आज सोमबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ्य अर्पण गर्दै छन्।
कात्तिक शुक्ल पक्षको षष्ठी तिथिमा मनाइने यो दिनलाई ‘छठको मुख्य दिन’ वा ‘सँझीया घाटे’ पनि भनिन्छ। चार दिनसम्म मनाइने यस पर्वको आज तेस्रो दिनमा व्रतालुहरू नदि, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएका छठ घाटमा पुगेर अस्ताउँदो सूर्यको आराधना गर्दै छठी मातालाई अर्घ्य दिइरहेका छन्।
वीरगन्जका प्रमुख छठ घाटहरू — घडिअर्वा पोखरी, रानीघाटस्थित सिर्सिया नदी, नगवा, छपकैया लगायतका स्थानहरूमा आज साँझदेखि व्रतालुहरूको ठूलो भीड लागेको छ। तीर्थस्थलहरूलाई रंगीन बत्ती, फूलपात र तोरणले सजाइएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
छठी माताको पूजामा प्रयोग गरिने प्रसादमा गहुँ वा चामलको पिठोबाट बनाइने ठेकुवा विशेष महत्त्व राख्छ। साथै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फलफूल र प्रसादहरू सूर्य भगवान र छठी मातालाई अर्पण गरिन्छ।
छठ पर्वको अन्तिम दिन मंगलबार बिहान सप्तमी तिथिमा व्रतालुहरू पुनः छठ घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। त्यसपछि पूजा विधिवत रूपमा सम्पन्न हुँदै पर्वको समापन हुनेछ।
यसअघि आइतबार साँझ व्रतालुहरूले निर्जला व्रतको दोस्रो चरणका रूपमा खरना विधि सम्पन्न गरेका थिए। खरनाको अवसरमा चामल र भेलीको खीर (रसियाव) तथा गहुँको रोटी पकाएर चन्द्रमालाई अर्पण गरी पूजा गरिएको थियो।
छठ पर्व गत शनिबारदेखि विधिवत रूपमा नहाय–खाय विधिबाट सुरु भएको हो। पहिलो दिन व्रतालुहरूले नदी, पोखरी वा तलाउमा स्नान गरी लसुन र प्याजबिनाको चोखो शाकाहारी भोजन ग्रहण गरेका थिए।
सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति बढाउने सन्देश दिने यो पर्व तराई–मधेसवासीहरूको आस्था र विश्वाससँग गासिएको छ। वर्षमा दुईपटक — कात्तिक र चैत महिनामा — छठ पर्व मनाइन्छ। धार्मिक विश्वासअनुसार छठी माताको व्रत गर्दा दुःख, दरिद्रता र पीडाबाट मुक्ति प्राप्त हुने मान्यता रहिआएको छ।
भक्तजनहरूले छठ पर्वलाई केवल धार्मिक नभई सामाजिक एकता, सांस्कृतिक पहिचान र वातावरणीय स्वच्छताको प्रतीकका रूपमा समेत लिने गरेका छन्। वीरगञ्जका घाटहरूमा आज साँझ श्रद्धा, भक्ति र उत्साहले भरिएको वातावरण देखिएको छ।















