२०८२ कार्तिक १८ गते, मंगलवार १९:१४

सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना

वीरगन्ज-
सामुदायिक संस्था सानो पाइलाद्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना गरिएको छ। पुनर्स्थापना केन्द्रमा उपचाररत विद्यार्थीहरूलाई उपचारसँगै डिजिटल सीप र जीवनपयोगी ज्ञान प्रदान गरी सशक्त बनाउने उद्देश्यका साथ ल्याब स्थापना गरिएको हो।

मंगलबार वीरगन्ज–परवानीपुरस्थित केन्द्र परिसरमा आयोजित कार्यक्रममा ल्याबको औपचारिक उद्घाटन गरिएको थियो। ल्याबमा विभिन्न विषयका पुस्तकसहितको पुस्तकालय र अत्याधुनिक कम्प्युटरहरूयुक्त कम्प्युटर ल्याब सञ्चालनमा ल्याइएको छ, जहाँ लागूऔषध दुरुपयोगविरुद्ध उपचाररत विद्यार्थीहरूलाई कम्प्युटर तथा डिजिटल सीप सिकाइनेछ।

केन्द्रका प्रमुख भाजू राउत कुर्मीले उपचारका क्रममा रहेका विद्यार्थीहरूलाई पुनर्स्थापना पछि आत्मनिर्भर बनाउन आवश्यक सीप प्रदान गर्ने उद्देश्यअनुरूप ल्याब स्थापना गरिएको बताए। उनका अनुसार केन्द्रले यसअघि पनि सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ र यो ल्याबले विद्यार्थीहरूलाई समयअनुकूल सीप सिकाउने अवसर उपलब्ध गराउनेछ।

कार्यक्रममा सानो पाइलाका संस्थापक तथा युवा नेता कञ्चन झाले ल्याब स्थापनार्थ प्रारम्भिक सहयोग उपलब्ध गराउने डन ग्रयागप्रति धन्यवाद व्यक्त गरे। उनले सानो पाइलाका हरेक गतिविधिलाई सशक्त बनाउन डनको निरन्तर सहयोगले महत्वपूर्ण भूमिका खेलेको बताउँदै समुदायसँगको सहकार्यमा स्थापना गरिएको यो ल्याबले आशातीत नतिजा दिने विश्वास व्यक्त गरे।

त्यसैगरी वीरगन्ज–२१ का पूर्व वडाध्यक्ष हबिब मियाँले सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रले लागूऔषध दुरुपयोगविरुद्ध उत्कृष्ट काम गर्दै आएको उल्लेख गर्दै समस्या समाधानका लागि सधैं सहकार्य गर्न तयार रहेको बताए। उनले केन्द्रको स्थायी भवन निर्माणका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउँदै खेलकुद गतिविधि विस्तारका लागि सहयोग रकम केन्द्रका प्रमुख राउतलाई हस्तान्तरण गरे।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले उपचाररत विद्यार्थीहरूको सशक्तिकरणका लागि सानो पाइलाले गरेको पहल प्रशंसनीय भएको बताए। उनले ल्याबमा समावेश गरिएको पुस्तकालयले विद्यार्थीहरूमा पठन संस्कृतिको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै संघले सानो पाइलासँग निरन्तर सहकार्य गर्न तयार रहेको बताए।

त्यसैगरी सानो पाइलाकी संस्थापक सदस्य डा. निशा झाले संस्थाको जनमुखी सेवाबाट प्रभावित भएको बताउँदै ल्याबको थप विकासका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिन्। हाल उनी बेलायतमा चिकित्सकीय सेवामा सक्रिय रहेकी छन्।

कार्यक्रम संस्थापक दिपक बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाकी संस्थापक सदस्य सुष्मा गौतम, मानवसेवा आश्रम मधेश प्रदेशका देवेश मानवसेवा, सामाजिक अभियन्ता रामक्षेत्री कोइरी, अभियन्ता ध्रुव साह, अभियन्ता रमिता कुशवाहालगायतको उपस्थिति थियो।

संस्थाले ल्याबमा स्थापना गरिएको पुस्तकालयमा आवश्यक पुस्तकका सहयोगका लागि समुदायलाई आह्वान गरेको छ। साथै, सोही अवसरमा केन्द्रले लागूऔषध दुर्व्यसनविरुद्धको परामर्शका लागि टोल–फ्रि नम्बर १६६०–५१–५२००३ सार्वजनिक गरेको छ। उक्त नम्बरमार्फत इच्छुक व्यक्तिहरूले अब निःशुल्क परामर्श सेवा प्राप्त गर्न सक्ने केन्द्रका प्रमुख कुर्मीले जानकारी दिए।

पुनर्स्थापना केन्द्रले यस अवसरमा आफ्नो १७ वर्षको सेवा यात्रामा ४ हजार ५ सयभन्दा बढी व्यक्तिलाई पुनर्स्थापना गर्न सफल भएको उत्सव पनि मनाएको छ।

पोडकास्ट सुन्नुहोस