२०८२ कार्तिक २३ गते, आईतवार १५:००

हेटौंडाको २५ मिटर सडक विस्तार ५० वर्षसम्म अधुरै

मकवानपुर-

 एसियन हाइवे अन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक २५–२५ मिटरको विस्तार कार्य सुरु भएको ५० वर्ष बितिसक्दा पनि अधुरै छ । सडक विस्तारमा लगातार ढिलाइ हुनु र सरकारी निकायको मौनता स्थानीयवासीका लागि चिरस्थायी समस्या बनेको छ ।

सडक डिभिजन कार्यालय मकवानपुरले पटक–पटक ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रभित्रका घर, टहरा र पसल हटाउन निर्देशन दिएको भएपनि अहिलेसम्म ठोस काम अघि बढ्न सकेको छैन् । यसका कारण बजार क्षेत्रमा पार्किङ र ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ भने दैनिकजस्तो सवारी दुर्घटना हुने क्रम बढ्दो छ ।

२०७२ सालमा भत्काइएको राप्ती रोडसाइडमा हाल पुनः पसलहरू स्थापना भइसकेका छन् । यद्यपि सडक विस्तारले यस क्षेत्रमा व्यवस्थित ट्राफिक व्यवस्थापन र सुरक्षित आवत–जावतको वातावरण सिर्जना गर्ने भए पनि स्थानीय प्रशासन र राजनीतिक दबावले काम अघि बढ्न सकेको छैन् ।

स्थानीयवासीको गुनासो

हेटौडा–९ का स्थानियवासी हरि खड्काले सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण नेताहरूको व्यक्तिगत स्वार्थ रहेको बताए । ‘सडक विस्तार गर्न नेताहरूको स्वार्थले ढिला भइरहेको छ । चुनावमा वाचा गर्छन्, तर जितेपछि यो मुद्दा बिर्सिन्छन्,’उनले भने ।

हेटौडा–८ की स्थानिय सानु लामाले दशकौंदेखि सडक निर्माणको कुरा सुन्दै आइरहेको बताइन् । ‘सडक बनाउने भनेको ५० वर्ष भइसकेको छ । मेरो बुबाको पालादेखि सुरु भएको सडक अझै बनेको छैन । छोराको पालामा बन्छ कि आशा गरौं,’ उनले भनिन् ।

हेटौडा–१० का स्थानियवासी अरुण लामाका अनुसार सडक विस्तार ढिलाइ हुनुको अर्को कारण ठूला नेताहरूका निजी आवास सडकको दायराभित्र पर्नु हो ।

‘सडक विस्तार गरेपछि हेटौडा बजारको स्वरूप नै बदलिन्थ्यो । तर ठूला नेताहरूका घर र सरकारी निवास सडकभित्र परेकाले काम अघि बढाउन सकिएको छैन,’ उनले बताए ।

बाइपास रोड र १६ मिटर सडक

हेटौडा बजारको सडक विस्तार बाइपास रोडबाट लगेर १६ मिटर मात्र कायम गर्ने योजना पनि विवादको विषय बनेको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले उद्योगवाणिज सङ्घको कार्यक्रममा भनेका थिए, ‘हेटौडा बजारको सडक १६ मिटर मात्र बनाउँछौं ।’ तर उनका यी शब्द अहिले स्थानीय जनतामाझ असन्तोष र आलोचनाको विषय बनेका छन् ।

सडक डिभिजनको प्रतिक्रिया

सडक डिभिजन हेटौंडाका सूचना अधिकारी इ.यादव सुवेदीले भने, ‘जेनजी आन्दोलनपछि सडक विस्तार गर्न झनै अप्ठ्यारो भएको छ । हामीसँग बजेट छैन तर हामी यो काम चाँडै टुङ्गो लगाउने प्रयासमा छौं । फागुन २१ को चुनावभन्दा अघि हेटौंडाका सडक विस्तारको काम राम्ररी अघि बढाउनेछौँ ।’

हालसम्म सडक डिभिजनको ढिलाइ, राजनीतिक हस्तक्षेप, निजी आवास समस्या, र बजेटको अभावका कारण हेटौडा बजार क्षेत्रका २५ मिटर सडक विस्तार अधुरै रहेको छ । स्थानीयवासीहरू भने अबको चुनावअघि सडक विस्तारका कामलाई वास्तविकता बनाउने अपेक्षामा छन् ।

पोडकास्ट सुन्नुहोस