काठमाडौं-
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरका प्रमुख बालेन शाहविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन् । आइतबार मनोहरा खोला आसपासका सुकुम्बासी बस्तीमा पुगेका उनले बालेन प्रति कडा चेतावनी दिँदै आफू सुकुम्बासीको पक्षमा उत्रिने घोषणा समेत गरेका छन् ।
सुकुम्बासी बस्तीमा भएको भेलामा स्थानीयलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो आन्दोलनमा उनिहरुलाई पनि सहभागी हुन आग्रह गरे । सुकुम्बासी बस्तीमाथि भइरहेको अन्यायका विरुद्ध आवाज उठाउनुपर्ने बताउँदै प्रसाईँले भने, ‘गरिबको घर भत्काउँदाखेरि कतै तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस् । सुकुम्बासीमाथि भइरहेको अत्याचार सह्य छैन ।’
उनले काठमाडौं महानगरलाई सुकुम्बासी बस्तीमा अत्याचार गर्नु अघि बालमन्दिर खाली गर्न चुनौती दिए । प्रसाईँले भने, ‘पहिला बालमन्दिर खाली गर्नुहोस्, त्यसपछि मात्रै सुकुम्बासी बस्तीमा आँखा लगाउनुहोस् । भूमीहिनका घर भत्काउनु भन्दा अगाडि घर, बाटो, बिजुली र खानेपानीको व्यवस्था गरौं ।’
आफू गरिब र उत्पीडित वर्गको पक्षमा रहेको दाबी समेत उनले गरे । उनले सुरक्षा दिन सके आफू सुकुम्बासी बस्तीमै बस्न तयार रहेको समेत बताए । प्रसाईँले मंसिर ७ गतेदेखि सुरु हुने अनिश्चितकालीन ‘नेपाल बन्द’ आन्दोलनमा साथ दिन सर्वसाधारणलाई आग्रह गरे ।
उनले भने, ‘म गरिबको मान्छे हो, दुर्गा प्रसाईँ भनेको लुगा नलागाएको जोगी हो । तपाईंहरूले सुरक्षा दिनुभयो भने म यही सुकुम्बासी बस्तीमै बस्न तयार छु । अब आउने मंसिर ७ गते तपाईंहरूलाई बचाउने मान्छे पूर्वबाट उदाएको छ । म तपाईंहरूको साथमा सडकमा आउन चाहन्छु, तपाईंहरूलाई बचाउन चाहन्छु ।’















