२०८२ कार्तिक २३ गते, आईतवार १८:४१

वीरगन्जमा मानव अधिकार शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न

एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगन्जद्वारा आयोजना

वरिगन्ज-

एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगञ्जद्वारा आयोजित मानव अधिकार शिक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम आज वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता समूह–१६ वीरगञ्जका अध्यक्ष रजनीश झाले गरेका थिए भने एमनेस्टी इन्टरनेशनल सचिवालयबाट आएका कुन्दन राज शर्मा प्रमुख प्रशिक्षकका रूपमा उपस्थित रहेका थिए। प्रशिक्षक शर्माले विश्वव्यापी मानव अधिकारका मापदण्ड, नेपालमा मानव अधिकारको वर्तमान अवस्था तथा नागरिक सरोकारका विभिन्न पक्षबारे विस्तृत रूपमा प्रशिक्षण दिएका थिए।

उनले मानव अधिकार उल्लङ्घन रोकथामका उपायहरू, नागरिकको भूमिकाको महत्त्व, र स्थानीय स्तरमा अधिकारको संरक्षण कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा व्यावहारिक सत्रसमेत सञ्चालन गरेका थिए।

कार्यक्रममा विभिन्न संघ–संस्था, नागरिक समाजका प्रतिनिधि तथा मानव अधिकारकर्मी गरी ३५ जना सहभागी रहेका थिए। सहभागीहरूले प्रशिक्षणबाट मानव अधिकारसम्बन्धी ज्ञान र व्यवहारिक सीप दुवै हासिल गरेको अनुभव साझा गरेका छन्।

समापन सत्रमा अध्यक्ष झाले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भने, “मानव अधिकारको प्रभावकारी संरक्षण र प्रवर्द्धनका लागि सचेत नागरिकको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। आजको प्रशिक्षणले त्यस दिशामा सहभागीहरूलाई प्रेरित गरेको छ।”

कार्यक्रममा समूहका पूर्व संयोजक राजेश बोथरा, पत्रकार अभिलाष गुप्ता, अनिल ओझा, सन्तोष कुशवाहा, समूहका पूर्व अध्यक्ष प्रकाश बाहेती, र दलित महिला संघ वीरगञ्जकी अध्यक्ष निलाराम लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगञ्जका अनुसार, उक्त प्रशिक्षणले स्थानीय मानव अधिकार अभियन्ता र संस्थाहरूबीच आपसी सहकार्य, संवाद र क्षमतावृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

पोडकास्ट सुन्नुहोस