वीरगन्ज –
वीरगन्जस्थित नारायणी अस्पतालमा देखिएको चरम अनियमितता, आर्थिक दुरुपयोग र व्यवस्थापकीय कमजोरीका विषयमा निष्पक्ष छानबिनको माग गर्दै जेन जी पर्सा समूहले आज जिल्ला प्रशासन कार्यालय, पर्सामा ध्यानाकर्षण पत्र तथा ज्ञापनपत्र बुझाएको छ।
हालसालै अस्पतालभित्र औषधि खरिद प्रक्रिया, उपकरण प्रयोग, बजेट व्यवस्थापन र प्रशासनिक गतिविधिमा ठूलो मात्रामा आर्थिक अनियमितता भएको जनगुनासो बढेपछि जेन जी पर्साको टोलीले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष औपचारिक रूपमा सो माग राखेको हो।
ज्ञापनपत्रमा आर्थिक वर्ष २०८१/८२ को सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक गर्न, खरिद गरिएका तर प्रयोगमा नआएका चिकित्सा उपकरणहरूको अवस्था सार्वजनिक गर्न, र अनियमिततामा संलग्न जिम्मेवार पदाधिकारीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।
ज्ञापनपत्र बुझाउँदै जेन जी पर्सा समूहका प्रतिनिधिहरूले भने,“नारायणी अस्पताल वीरगञ्जको मुख्य स्वास्थ्य संस्था हो। यहाँ हुने अनियमितताले प्रत्यक्ष रूपमा गरिब र विपन्न वर्गका नागरिकको स्वास्थ्य सेवामा गम्भीर असर पारेको छ। हाम्रो बुझाइमा भएका प्रमाण र गुनासोका आधारमा तत्काल छानबिन समिति गठन गरी दोषीमाथि कानुनी कारबाही गर्न आवश्यक छ।”
स्थानीय तहमा लामो समयदेखि अस्पतालमा सेवा प्रवाह कमजोर हुँदै गएको र व्यवस्थापनमा बेथिति बढेको भन्दै विभिन्न सामाजिक समूह र नागरिकहरूले पनि निरन्तर सुधार र पारदर्शिताको माग गर्दै आएका छन्।
जेन जी पर्साले भनेको छ — “स्वास्थ्य क्षेत्र जनताको जीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र हो, त्यसमा पारदर्शिता र जवाफदेहिताको अभाव असह्य छ।”
जिल्ला प्रशासन कार्यालयले प्राप्त ज्ञापनपत्रबारे आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।














