२०८२ कार्तिक २८ गते, शुक्रबार १५:५९

मधेश प्रदेशका सभामुख मण्डलविरुद्ध महाअभियोगको तयारी

जनकपुर-

मधेश प्रदेशका प्रदेश प्रमुख आचरण विपरीत कार्य गरेको कारण बर्खास्त भएको केही दिनमै प्रदेशसभामा अर्को ठूलो राजनीतिक हलचल सुरु भएको छ। सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्न महाअभियोग प्रस्ताव ल्याउने तयारी गरिएको छ।

सभामुख मण्डल नेकपा एमालेबाट निर्वाचित हुन्। तर, हालका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा मण्डलले पदीय आचरण विपरीत कार्य गरेको आरोप विपक्षी दलहरूले लगाएका छन्।

विपक्षी दलका सांसदहरूले आरोप लगाएका छन् कि सभामुख मण्डलले मुख्यमन्त्री सोनललाई सम्बोधन गर्न अवसर नदिई सदनमा उपस्थित नभएका बेला नै मत विभाजन प्रक्रिया अघि बढाएका थिए। यस घटनापछि गठबन्धन दलका सांसदहरू आक्रोशित बनेका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी र अन्य दलहरूले सभामुख मण्डल एमालेको कार्यकर्ताको भूमिकामा देखिएको आरोप लगाएका छन्। कांग्रेसका एक सांसदका अनुसार, सभामुखमाथि महाअभियोग दर्ता गर्न आवश्यकभन्दा बढी अर्थात् ७४ भन्दा बढी सांसदको हस्ताक्षर संकलन भइसकेको छ।

सभामुख मण्डल विगतमा पनि पटक–पटक विवादमा पर्दै आएका छन्। लोसपाका सांसद उपेन्द्र महतोले सदनमा मण्डलविरुद्ध कठोर शब्द प्रयोग गरेका थिए भने कांग्रेस सांसद शेषनारायण यादवसँग समेत उनको झगडा भएको थियो।

त्यस्तै, हरेक आर्थिक वर्षको बजेट सत्रमा पनि मण्डल विवादमा पर्ने गरेका छन्। उनलाई आफ्ना परिवार र नातेदारलाई करारमा नियुक्त गरी तलब र सुविधा लिन लगाएको आरोप समेत लाग्दै आएको छ।

गठबन्धन स्रोतका अनुसार, आइतबार सर्वोच्च अदालतमा मुख्यमन्त्रीविरुद्धको मुद्दाको पेशी रहेको र त्यसपश्चात सोमबार सभामुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ।

सभामुख मण्डलले भने आफूले कसैको दबाबमा राजीनामा नदिने र महाअभियोगको सामना गर्न तयार रहेको बताइएका छन्। उनी मधेश प्रदेशका दोस्रो सभामुख हुन्। सभामुख बनेदेखि नै उनी निरन्तर विवादमा परिरहेका छन्।

पोडकास्ट सुन्नुहोस