वीरगन्ज-
वीरगन्ज महानगरपालिकालाई यहाँस्थित भास्कर हर्वास्युटिकल्स प्रा.लि. ले पाँच थान ल्यापटप सहयोग गरेको छ।
गएको भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा भएको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन र कार्यालय सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका थिए। त्यस घटनापछि कार्यालय सञ्चालन र प्रशासनिक काममा कठिनाइ आइरहेको थियो।
त्यस अवस्थालाई मध्यनजर गर्दै भास्कर हर्वास्युटिकल्सले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत महानगरलाई सहयोगस्वरूप ल्यापटप उपलब्ध गराएको हो।
आज महानगरपालिकामा आयोजित कार्यक्रममा उद्योगका प्रतिनिधि शम्भु अग्रवालले पाँच थान ल्यापटप वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरे। अग्रवालले भने,“वीरगन्ज हाम्रो कार्यस्थल मात्र होइन, हाम्रो समुदाय पनि हो। त्यस समुदायको पुनःस्थापनामा योगदान दिन पाउनु हाम्रो दायित्व हो।”महानगर प्रमुख सिंहले भास्कर हर्वास्युटिकल्सप्रति आभार व्यक्त गर्दै भने, “भदौको घटनापछि भौतिक पूर्वाधार र उपकरण नष्ट हुँदा सेवा प्रवाहमा चुनौती आएको थियो। यस्ता सहयोगहरूले पुनःस्थापनामा ठूलो सहयोग पुर्याइरहेका छन्।”
यसअघि पनि सूर्य नेपाल प्रा.लि., वीरगन्ज उद्योग वाणिज्य संघ, एनपीएल समाज कल्याण संस्था, औषधी व्यवसायी संघ, केएनपी जापान र बृटानिया लगायतका संस्थाहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्री सहयोग गरिसकेका छन्।
महानगरले यस्ता सहकार्य र सहयोगका कार्यक्रमहरूबाट सेवा पुनःस्थापना र डिजिटल प्रशासन प्रणाली सुदृढीकरण गर्ने लक्ष्य लिएको जनाएको छ।















