२०८२ मंसिर ५ गते, शुक्रबार ०८:४६

सिमरा घटना: मुख्य आरोपित अरविन्द साह पक्राउ, दुई वडाध्यक्ष सात दिनको हिरासतमा

बारा-

बाराको सिमरामा जेन–जी अभियानका युवामाथि कुटपिट भएको घटनाका मुख्य आरोपित अरविन्द साहलाई प्रहरीले पक्राउ गरेको छ। पीडितहरूले दिएको किटानी जाहेरीका आधारमा जीतपुर–सिमरा उपमहानगरपालिका–२ निवासी ३८ वर्षीय साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले पुष्टि गरेका छन्।

बुधबार भएको घटनापछि जेन–जी अभियानका युवाहरूले सिमरामा दिनभर विरोध प्रदर्शन गर्दै साहलाई ‘मुख्य दोषी’का रूपमा आरोप लगाएका थिए। उनीहरूले साह पक्राउ नहुँदासम्म प्रशासनसँग कुनै पनि वार्ता नगर्ने अडान राखेका थिए।

जेन–जी मधेश प्रदेश संयोजक शिव यादवले दोषीमाथि कानुनी कारबाही सुनिश्चित भएपछि मात्र वार्ताको वातावरण बन्ने बताएका छन्।

दुई वडाध्यक्ष पक्राउ, ७ दिनको म्याद थप

घटनामा संलग्न रहेको आरोपमा जेन–जी अभियानले कुल ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएको छ। सोही आधारमा बिहीबार बिहान दुई जना वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको जनाएको छ।

अभियानका अगुवाहरू जनकपुर र सिमरा तर्फ

घटना गम्भीर बन्दै जाँदा खेलकुद तथा युवा मन्त्री बब्लु गुप्तासहित जेन–जी अभियानका अगुवाहरू—सुदन गुरुङ, शिव यादव र पुरुषोत्तम यादव जनकपुरधाम पुगेका छन्।

यही घटनाको वास्तविकता बुझ्न र पीडितलाई न्याय दिलाउन शुक्रबार जेन–जी टोली पुनः सिमरा जाने तयारी भइरहेको जनाइएको छ।

पोडकास्ट सुन्नुहोस