वीरगन्ज-
नेपाल मुस्लिम समाज संघ पर्साले हालै प्रधानमन्त्रीद्वारा सार्वजनिक रूपमा व्यक्त भएको भनिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल स्पष्टीकरण माग गरेको छ।
शुक्रबार वीरगन्जस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष महबुब अली (शेरू) द्वारा हस्ताक्षरित प्रेस वक्तव्य सार्वजनिक गरियो। वक्तव्यमा भनिएको छ, “यदि उक्त अभिव्यक्ति एडिटिङ वा कृत्रिम प्रविधिको प्रयोगबिना साँच्चै प्रधानमन्त्रीबाट व्यक्त भएको हो भने यो मुस्लिम समुदायमात्र होइन, समग्र देशको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामाथि गम्भीर आघात हो।”
संघले सार्वजनिक पदमा बसेका व्यक्तिबाट कुनै पनि धर्म, जाति वा संस्कृतिमाथि अपमानजनक टिप्पणी हुन नहुनेमा जोड दिएको छ। नेपाल बहुलतावादी र समावेशी मुलुक भएकाले हरेक नागरिकलाई आफ्नो धर्म र संस्कृति जोगाएर बाँच्ने संवैधानिक अधिकार रहेको संघको भनाइ छ।
संघका तीन बुँदे मागहरू:
१ . प्रधानमन्त्रीबाट विवादित अभिव्यक्तिबारे तत्काल सार्वजनिक स्पष्टीकरण जारी गर्नुपर्ने
२. कुनै पनि समुदायमाथि अपमानजनक वक्तव्य दोहोरिन नदिन संवैधानिक र नैतिक मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने
३. सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संवेदनशील समुदायको सुरक्षाका लागि व्यावहारिक कदम तत्काल चाल्नुपर्ने
पत्रकार सम्मेलनमा पूर्वमन्त्री करिमा बेगम, राजनीतिज्ञ शशी कपुर मिया, जन्नत अन्सारीलगायत मुस्लिम समुदायका अगुवा तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।
संघले आफू सधैं समावेशिता, समानता र राष्ट्रिय एकताको पक्षमा रहेको र भविष्यमा पनि यी मूल्यहरूको संरक्षणका लागि सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
#मुस्लिमसमुदाय #सामाजिकसद्भाव #प्रधानमन्त्रीकोअभिव्यक्ति #वीरगन्ज #नेपालमुस्लिमसमाजसंघ #धार्मिकसहिष्णुता #राष्ट्रियएकता














