२०८२ मंसिर २४ गते, बुधबार १३:१३

नाबालिग बलात्कार अभियोगमा एमाले नेता शिवशंकर साह ‘हिरा’ भारतबाट पक्राउ, घटना लुकाउन खोज्ने मामा पनि नियन्त्रणमा

जनकपुरधाम-

१३ वर्ष ४ महिनाकी नाबालिगलाई बलात्कार गरेको गम्भीर अभियोगमा फरार रहेका नेकपा एमालेका नेता तथा व्यवसायी शिवशंकर साह ‘हिरा’ लाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष पहलकदमी गर्दै उनलाई भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाबाट नियन्त्रणमा लिई अबेर राति धनुषा ल्याएको हो।

यसै घटनामा संलग्नता देखाएको भन्दै पीडित नाबालिगका मामा सञ्जय महासेठ पनि पक्राउ परेका छन्। उनलाई बलात्कारको घटनालाई कानुनी दायरामा नलगी मिलापत्र गराउने प्रयास गरेको र पीडक पक्षबाट रकम समेत बुझेको आरोप लागेको प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा धनुषाका प्रवक्ता गणेश बहादुर बमले पुष्टि गरेका छन्।

फरार हिरा साह कसरी परे नियन्त्रणमा?

गत स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरका उम्मेदवार समेत रहेका हिरा साहको नाम पीडित पक्षले अनुसन्धानका क्रममा पोलेको थियो। लगत्तै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी पाउनासाथ उनी बिहारतर्फ भागेका थिए।

धनुषाका प्रहरी प्रमुख एसपी रुगम बहादुर कुँवरले यस अनुसन्धानलाई विशेष चासो दिएर अगाडि बढाएका थिए। प्रहरी सम्बद्ध स्रोतका अनुसार, हिरा साह सीतामढीमा लुकेर बसेको सुराग पाएपछि नेपाल प्रहरीले भारतीय समकक्षी (काउन्टर पार्ट) सँग समन्वय गरी पक्राउ गर्न सफल भएको हो।

प्रहरीले औपचारिक रूपमा पक्राउ पुष्टि नगरे पनि स्रोतले उनलाई अबेर राति धनुषा ल्याइसकेको जनाएको छ।

घटनाक्रम र मुख्य अभियुक्तको बयान

नाबालिग बलात्कारको यो जघन्य घटना गत कार्तिक २२ गते जानकी चोकस्थित एक होटेलमा भएको थियो। किशोरीलाई दुई रातसम्म बन्धक बनाएर बलात्कार गरिएको पीडित पक्षले बताएको छ।

प्रहरीले यसअघि नै मुख्य अभियुक्तको रूपमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का मनोज कुमार साहलाई काठमाडौँबाट पक्राउ गरिसकेको छ। अविवाहित मनोज साह हिरा साहका साख्यै कान्छो भाइ हुन्।

प्रहरीका अनुसार, पक्राउ परेका मनोज साहले अपराध स्वीकार गरिसकेका छन्। उनको बयानको आधारमा प्रहरीले हिरा साहसमेत तीन जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। यस घटनामा संलग्न अन्य दुई जना भने अझै प्रहरीको पहुँचभन्दा बाहिर रहेको बताइएको छ।

घटना गुपचुप पार्ने सुनियोजित प्रयास

बलात्कारको घटना बाहिरिएपछि अभियुक्त पक्षले यसलाई गुपचुप मिलाउन सक्रिय रूपमा प्रयास गरेको थियो। प्रहरीका अनुसार, हिरा साह लगायत तीन जना घटनालाई मिलापत्र गराउन सक्रिय थिए। पीडितलाई करिब ३० लाख रुपैयाँसम्म दिने सहमति समेत गरिसकेपछि पनि घटना करिब २२ दिनसम्म भित्रभित्रै भुसको आगो जस्तो सल्किएको थियो।

यस मिलापत्रको प्रयासमा पीडित बालिकाका मामा सञ्जय महासेठले दोषीसित मिलेमतो गरी केही लाख रुपैयाँ लिएको पीडितले खुलासा गरेकी छिन्। मामाले घटनालाई प्रहरीसम्म पुग्न नदिएर गुपचुपमै राख्न खोजेका थिए।

दबाबको बावजुद प्रहरी अनुसन्धान सफल

घटनाको उजुरी नपरे पनि प्रहरीले स्वयं संज्ञान लिई सूक्ष्म अनुसन्धान अगाडि बढाएको थियो। प्रहरीले पीडितलाई नै नियन्त्रणमा लिएर अनुसन्धान गर्दा यो जघन्य अपराधमाथिको पर्दा उघ्रिएको थियो।

नेकपा एमालेका केही नेताहरूले हिरा साहलाई जोगाउन प्रहरीमाथि दबाब दिएको भए पनि धनुषा प्रहरीले घटनाको तहसम्म पुगेर दोषीहरूलाई कानुनको दायरामा ल्याउन सफल भएको स्रोतले बताएको छ। पीडितले अहिले जाहेरी समेत दर्ता गराइसकेकी छिन्।

पोडकास्ट सुन्नुहोस