पर्सा –
सखुवाप्रसौनी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा प्रभातफेरी ¥याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
गाउपालिकाकी उपाध्यक्ष एवम् न्यायीक समितिकी संयोजक शर्मिला बिस्ट महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
लैङ्गिक हिंसा अन्त्य तथा डिजिटल हिंसाका रूपहरू विरुद्ध सचेतना फैलाउने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिका–१ का वडा अध्यक्ष बासुदेव महतो थारु, वडा २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, कार्यपालिका सदस्यहरू, गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादव, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार, सामाजिक विकास प्रमुख बिनोद यादव, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद यादव तथा चिरञ्जीवी यादव सहित विविध क्षेत्रका व्यक्तिहरू उपस्थित रहेका थिए।
कार्यक्रममा श्री दिपनरायण आदर्श नमुना विद्यालयका छात्राहरूले समेत सहभागिता जनाएका थिए, जसले समुदायमा लैङ्गिक समानता र सुरक्षित वातावरणका लागि युवाहरूको सहभागिता महत्वपूर्ण रहेको संदेश प्रवाह गरेको थियो।
यस अभियान अन्तर्गत “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ जनचेतना अभिवृद्धि गर्न विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो।
कार्यक्रममा लैङ्गिक हिंसा महिला अधिकार समूहकी अध्यक्ष सुमित्रा पन्तले हरेक समुदायमा महिला तथा बालिकामाथि भएका वैचारिक, सामाजिक, शारीरिक तथा डिजिटल प्रकारका सबै हिंसाको अन्त्य गर्न सबै सरोकारवालाले संयुक्त रूपमा अघि बढ्नुपर्ने धारणा राखिन्।














