जनकपुरधाम-
मधेस प्रदेशको राजधानी जनकपुरधाम यतिबेला देशकै राजनीतिको ‘इपिसेन्टर’ बन्ने संकेत देखिएको छ। आसन्न निर्वाचनको पूर्वसन्ध्यामा एकातिर पूर्वराजपरिवारको सक्रियता बढ्दैछ भने अर्कोतिर काठमाडौंका मेयर बालेन साहको ‘रास्वपा’ प्रवेश र राजीनामाको चर्चाले नयाँ हलचल ल्याएको छ।
उच्च स्रोतका अनुसार, पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमणको पूर्वतयारी स्वरूप हिमानी शाह यसै साता जनकपुरधाम ओर्लिँदै छिन्। पूर्वराजाको आगमन पूर्व व्यवस्थापन र आन्तरिक समीकरण बुझ्न उनी आउन लागेकी हुन्। यद्यपि, पूर्वराजाको मिति भने अझै गोप्य राखिएको छ। मधेसको धार्मिक आस्था र परम्परागत सम्बन्धलाई ऊर्जा दिन यो भ्रमणलाई रणनीतिक मानिएको छ।
काठमाडौंका मेयर बालेन साहले आगामी माघ ४ गते पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्। ‘जेन-जी’ आन्दोलनको रापतापपछि हौसिएका बालेनले आफ्नो चुनावी यात्राको प्रारम्भ आफ्नै गृहजिल्ला महोत्तरी नजिकको केन्द्र जनकपुरधामबाट गर्ने निर्णय गरेका छन्। माघ ५ गते जनकपुरमा हुने विशाल सभामा सभापति रवि लामिछाने र बालेन साहले पहिलोपटक एउटै मञ्चबाट संयुक्त चुनावी बिगुल फुक्नेछन्।
यद्यपि, बालेनका लागि मधेसको यात्रा सहज भने देखिँदैन। काठमाडौंको मेयर हुँदा बागमती किनाराका सुकुम्बासी र कवाड व्यवसायी (जसमा ठूलो संख्या मधेसी समुदायको थियो) माथि उनले चलाएको डोजर र कठोर व्यवहारलाई मधेसले अझै बिर्सेको छैन। “सहर सफा गर्ने नाममा मधेसीको झुपडी उजाड्नेहरू आज कुन मुखले भोट माग्न आउँछन्?” स्थानीय शम्भु साह प्रश्न गर्छन्।
संघीयता विरोधी छविका कारण मधेसमा ‘पहाडिया पार्टी’ को ट्याग लागेको रास्वपालाई यसपटक बालेनको साथले कस्तो प्रभाव पार्ला? यो कौतूहलको विषय बनेको छ। कुलमान घिसिङ जस्ता पात्रहरूको बहिर्गमन र सभापति रवि लामिछानेमाथि लागेका सहकारी ठगी तथा नागरिकताका गम्भीर दागहरूले पार्टीको ‘नैतिक धरातल’ माथि पनि प्रश्न उठिरहेको छ।
परम्परागत दलहरूको विकल्प खोजिरहेका युवाहरूका लागि बालेन र रवि ‘आशाको दियो’ बन्ने प्रयत्नमा छन् भने पूर्वराजा आफ्नो ‘सांस्कृतिक विरासत’ फर्काउने दाउमा छन्। मधेसको उर्वर भूमिमा यी नयाँ र पुराना शक्तिहरूले कस्तो फसल काट्ने हुन्, त्यसको प्रारम्भिक झाँकी माघ ५ गतेको जनकपुर सभाले दिने निश्चित छ।














