२०८२ माघ २ गते, शुक्रबार १८:२९

उम्मेदवार जिताउन भारतीय दूतावासले चलखेल गर्नु मूर्खतापूर्ण कार्य : नेतृ विना जैसवाल

वीरगन्ज-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य एवं पूर्व प्रतिनिधि सभा सदस्य विना जैसवालले निर्वाचनमा उम्मेदवार जिताउन भारतीय दूतावासले पद र पैसाको चलखेल गर्नु मूर्खतापूर्ण कार्य भएको धारणा व्यक्त गर्नुभएको छ। वीरगन्जका सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा नेतृ जैसवालले यस्तो प्रतिक्रिया दिनुभएको हो।

शान्ति सुरक्षा कायम गर्न नसक्ने, युवालाई रोजगारी र विकास दिन नसक्ने उम्मेदवारलाई जिताउन यदि भारतीय दूतावासले पैसा र पावरको चलखेल गर्छ भने, त्यो दूतावासको अदूरदर्शिता र मूर्खता हुने उहाँको तर्क छ।

राप्रपा पर्साले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर २ बाट जैसवालको नाम एकल सिफारिस गरेको छ। सोही सन्दर्भमा प्रतिक्रिया दिँदै उहाँले विगतका निर्वाचनमा अजय चौरसियालाई जिताउन भारतीय दूतावासले भूमिका खेलेको भन्ने चर्चाको विषयमा कडा टिप्पणी गर्नुभएको हो।

“विगतदेखि नै तराईका जिल्लामा उम्मेदवार जिताउन भारतीय दूतावासले चलखेल गर्ने गरेको सुनिँदै आएको छ,” जैसवालले भन्नुभयो, “यसमा मलाई शतप्रतिशत विश्वास त छैन, तर यदि साँच्चै त्यस्तो भइरहेको छ भने त्यो दूतावासको ठूलो गल्ती हो।”

उहाँले दूतावासको सहयोग भनिएका उम्मेदवार निर्वाचित भए पनि क्षेत्रमा कुनै विकास नभएको दाबी गर्नुभयो। “अजय चौरसियाले जितेको क्षेत्रमा विकास भएको छैन। यस्ता असफल उम्मेदवारलाई पुनः जिताउन शक्ति प्रयोग गरिन्छ भने त्यसले आम जनताको हित गर्दैन,” उहाँले प्रस्ट पार्नुभयो।

अहिलेका नेपाली जनताले परिवर्तन, रोजगारी र विकास चाहेको उल्लेख गर्दै उहाँले पुरानै असफल अनुहारलाई जिताउन बाह्य चलखेल हुनु नागरिकको हकमा उचित नहुने बताउनुभयो। साथै, बारा र पर्सा लगायतका जिल्लामा पछिल्लो समय धार्मिक सद्भाव खलबलिएको र समुदायबीच द्वन्द्वको अवस्था सिर्जना हुँदा पनि निर्वाचित जनप्रतिनिधिले शान्ति सुरक्षा कायम गर्न भूमिका नखेलेको उहाँको आरोप छ।

सञ्चारकर्मीको जिज्ञासामा यो धारणा पार्टीको आधिकारिक नभई आफ्नो व्यक्तिगत धारणा रहेको जैसवालले प्रस्ट पार्नुभयो।

२०७९ को स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनुभएकी जैसवालले ५ हजार ९ सय ८८ मत प्राप्त गर्नुभएको थियो। स्थानीय तहमा पराजित भए पनि पार्टीले उहाँलाई समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य मनोनीत गरेको थियो।

पोडकास्ट सुन्नुहोस