रौतहट-
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रहरी सहायक निरीक्षक (असई) बनेको नाटक गर्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर निवासी ३५ वर्षीया निर्मला महतोलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार महतोले नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनाम प्रयोग गरी आफूलाई प्रहरी अधिकृतका रूपमा चिनाउँदै सर्वसाधारणलाई विश्वासमा पारेर रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनले सर्लाहीका अटो चालक राजेश्वर साहलाई भन्सारबाट स्कारपियो गाडी मिलाइदिने प्रलोभन देखाएर १ लाख ५० हजार रुपैयाँ र कागजात लिएको आरोप छ। यस्तै, सन्तोष विश्वकर्माको ज्वेलर्सबाट २ लाख ७४ हजार बराबरको गहना, तथा प्रवीण साहको किराना पसलबाट १ लाख २६ हजार बराबरको सामान लिएर गाडी भाडासमेत नतिरी ठगी गरेको बताइएको छ।
यसैगरी, घरायसी समस्या देखाउँदै गुजरा नगरपालिकाका विजय साह बनियाँसँग ५ लाख रुपैयाँ सापटी लिएर फरार भएको तथ्य पनि खुलेको प्रहरीले जनाएको छ।
पीडितहरूको उजुरीपछि उनलाई चन्द्रपुर नगरपालिका–६ बाट पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी रूपा लाबुङका अनुसार महतोविरुद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।













