२०८२ चैत्र ११ गते, बुधबार ११:४७

स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार गौतम सम्मानित

वीरगञ्ज-

स्वर्गीय सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट वीरगञ्जका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम सम्मानित हुनुभएको छ।

नेपाल पत्रकार महासंघ पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको एक समारोहका बीच प्रतिनिधि सभा सदस्य हरि पन्थले वरिष्ठ पत्रकार गौतमलाई प्रमाणपत्र तथा नगद २५ हजार रुपैयाँसहित सम्मान गर्नुभएको हो।

पुरस्कार प्राप्त गरेका वरिष्ठ पत्रकार गौतमलाई बधाई दिँदै प्रतिनिधि सभा सदस्य पन्थले चार दशकभन्दा बढी समयदेखि जनपक्षीय पत्रकारिता गर्दै आएका व्यक्तित्वलाई पुरस्कारका लागि छनोट गर्नु महासंघ पर्साको सराहनीय निर्णय भएको धारणा व्यक्त गर्नुभयो। उहाँले निडर र साहसी पत्रकारका रूपमा चिनिने स्वर्गीय सुदर्शनराज पाण्डेको नाममा स्थापित उक्त पुरस्कारको राशि वृद्धि गर्न आफूले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, महासंघका पूर्व सचिव तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ) एसिया–प्रशान्तका सहसचिव दीपेन्द्र चौहानलगायत वक्ताहरूले स्वर्गीय पत्रकार पाण्डेको नाममा स्थापित पुरस्कारका लागि वरिष्ठ पत्रकार गौतमलाई छनोट गर्नु महासंघको सराहनीय कार्य भएको बताए।

वक्ताहरूले स्वर्गीय पाण्डे निडर, साहसी तथा सधैं जनताको पक्षमा पत्रकारिता गर्ने व्यक्तित्व रहेको चर्चा गरेका थिए।

कार्यक्रमको सञ्चालन महासंघ पर्साका सचिव विजय चौहानले गर्नुभएको थियो।

पोडकास्ट सुन्नुहोस