काठमाडौं –
प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो खुशी र गर्व व्यक्त गरेकी छन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन् ।
उनले निर्वाचन आयोग र सुरक्षाकर्मीहरूको प्रयासलाई उच्च सम्मान दिँदै लोकतान्त्रिक उपलब्धिका रूपमा यसलाई चित्रित गरिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘गत भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’ पछि मुलुकले चुनौतीपूर्ण परिस्थितिको सामना गर्नु परेको थियो । त्यसबीच असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो ।’
उनले निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य र मान्यता सुदृढ पार्ने नयाँ अध्यायको ढोका खोलेको पनि उल्लेख गरिन् । ‘आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएका छन्,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रिया चुनौतीपूर्ण भएतापनि सरकारले आफ्नो सम्पूर्ण शक्ति, स्रोत र प्रतिबद्धता यस कार्यमा लगाएको बताइन् । विशेष गरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगले स्पष्ट कार्ययोजना, व्यावसायिक दक्षता र दृढ इच्छाशक्तिका साथ निर्वाचन सफल बनाएको उनले बताए ।
प्रधानमन्त्रीले मतदाता दर्ता, राष्ट्रिय परिचयपत्रसँगको अन्तरआबद्धता, पुनः प्रयोगयोग्य सामग्रीको उपयोग, सरकारी खरिद प्रक्रिया, सुरक्षा व्यवस्थापन र निर्वाचन खर्चको पारदर्शिता जस्ता पहलहरूलाई ऐतिहासिक मानकका रूपमा प्रस्तुत गरिन् ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लोकतान्त्रिक छवि उज्यालो बनेकोमा खुशी व्यक्त गर्दै, सहयोग पुर्याउने सबै सरोकारवालाहरू प्रति आभार प्रकट गरिन् । साथै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइन् ।
प्रधानमन्त्री कार्कीले सबैको सहकार्यमा लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवद्र्धन र समृद्ध नेपालको निर्माणमा निरन्तर प्रयास रहने विश्वास व्यक्त गरिन् ।













