वीरगन्ज –
सत्य, अहिंसा र मर्यादाको उज्यालो सन्देश बोकेका भगवान् श्री रामचन्द्र को जन्मजयन्ती पावन रामनवमी आज देशभर श्रद्धा, भक्ति र आस्थाका साथ उल्लासपूर्ण रूपमा मनाइँदैछ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्याका सुपुत्रका रूपमा जन्मिएका श्रीराम केवल एक राजा मात्र होइनन्, उनी सत्यको मार्ग देखाउने आदर्श, अहिंसाको प्रतीक र मर्यादित जीवनशैलीका अनुपम उदाहरण हुन्। विष्णुको सातौँ अवतारका रूपमा मानिने उनको अवतरणले अधर्ममाथि धर्मको विजयको दीप प्रज्वलित गर्यो।
चैत्र शुक्ल नवमीको पवित्र क्षणमा पुनर्वसु नक्षत्र र कर्कट लग्नको दुर्लभ योगमा जन्मिएका रामचन्द्रको कुण्डलीमा पाँच ग्रहको विशेष संयोग परेको मानिन्छ, जसले उनलाई असाधारण शक्ति र दिव्यता प्रदान गरेको विश्वास छ। वासन्तीय नवरात्रको नवमीमा जन्मिएका उनले राक्षसी प्रवृत्तिको अन्त्य गर्दै आदर्श “रामराज्य” स्थापना गरे,जहाँ न्याय, अनुशासन र जनकल्याण सर्वोपरि थियो।
धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी केवल पूजा–अर्चनाको दिन होइन, यो आत्मअनुशासन, सत्यनिष्ठा र मर्यादित शासनको प्रेरणा लिने अवसर पनि हो। रामलाई “मर्यादा पुरुषोत्तम” भनिनुको कारण पनि यही हो,उनको जीवनले हरेक मानवलाई कर्तव्य, त्याग र सत्यको बाटोमा अघि बढ्न प्रेरित गर्छ।
शास्त्रीय मान्यताअनुसार अष्टमीमा अष्टमातृकाको पूजा र नवमीमा रामको आराधना, जप, ध्यान तथा रामायण वाचनले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। आजका दिन विशेषगरी रामजानकी मन्दिर र अयोध्या मा भव्य मेला लाग्ने गर्छ, जहाँ हजारौँ भक्तजनहरूको आस्था एकै ठाउँमा संगम हुन्छ।
पवित्र नदी, ताल र कुण्डमा स्नान गर्दै व्रत बस्ने, रामगीता तथा विभिन्न रामायण वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय पाठ गर्ने परम्पराले यो पर्वलाई अझ आध्यात्मिक बनाएको छ। रातभरि गुञ्जिने भजन कीर्तनले वातावरणलाई भक्तिमय बनाउँछ।
धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार आजका दिन श्रद्धापूर्वक व्रत, जप र पूजा गरेमा पाप नाश भई वैकुण्ठ प्राप्ति हुने विश्वास गरिन्छ। अझ महत्त्वपूर्ण कुरा रामनवमीले हामीलाई असत्य, अन्याय र हिंसामाथि सत्य, न्याय र करुणाको विजय सम्भव छ भन्ने अटल विश्वास दिलाउँछ।
यसरी, रामनवमी केवल एक पर्व नभई मानव जीवनलाई सही दिशा दिने आध्यात्मिक मार्गदर्शक हो,जहाँ भगवान् रामको आदर्शलाई आत्मसात् गर्दै समाजलाई शान्त, मर्यादित र समृद्ध बनाउने प्रेरणा लिइन्छ।













