वीरगन्ज-
मधेश प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल श्री गहवामाई मन्दिर प्राङ्गणमा आज रामनवमीको पावन अवसरमा भव्य ‘महाआरती’ आयोजना हुने भएको छ। श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले यस वर्षको रामनवमीलाई विशेष बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
आध्यात्मिक अनुष्ठान र समय
मन्दिरको मुख्य प्रवेशद्वार अगाडि आयोजना गरिने यस महाआरतीले वीरगन्जको धार्मिक एवं सांस्कृतिक गरिमालाई थप उचाइमा पुऱ्याउने विश्वास गरिएको छ। समितिका अनुसार आज बेलुकी ठिक ६:३० बजे देखि मन्त्रोच्चारण र दीप प्रज्वलनका साथ आध्यात्मिक अनुष्ठान सुरु हुनेछ।
सञ्चारकर्मी र श्रद्धालुलाई विशेष निम्तो
समितिका सचिव लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता) र विशेष अनुरोधकर्ता डा. पुरुषोत्तम दुवेले एक विज्ञप्ति जारी गर्दै यस पवित्र उत्सवलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण सञ्चारकर्मी तथा आम जनसमुदायमा हार्दिक निमन्त्रणा गर्नुभएको छ।
विज्ञप्तिमा भनिएको छ, “वीरगन्जको गौरव बोकेको यस पवित्र अनुष्ठानमा सहभागी भई पुण्य प्राप्त गर्न हामी सम्पूर्ण भक्तजन एवं जनमानसलाई सादर अनुरोध गर्दछौँ। साथै, यस गौरवमय क्षणको समाचार सम्प्रेषण र व्यापक प्रचार–प्रसार गरिदिनुहुन सञ्चारकर्मी साथीहरूमा विनम्र आग्रह छ।”
व्यवस्थापन चुस्त
रामनवमीको अवसरमा हुने भिडभाडलाई मध्यनजर गर्दै समितिले भक्तजनहरूको सहजताका लागि आवश्यक सुरक्षा र भौतिक व्यवस्थापन मिलाइसकेको छ। वीरगन्ज-६ स्थित मन्दिर प्राङ्गणमा हुने यस कार्यक्रमले नगरमा धार्मिक सहिष्णुता र एकताको सन्देश दिने अपेक्षा गरिएको छ।













