२०८२ चैत्र २३ गते, सोमबार ११:३९

प्रतिकूल मौसम र किराको प्रकोपका कारण मधेसका किसान ऋणको भारीमा थिचिँदै

धनुषा –

उर्वर भूमि भनेर चिनिने मधेस यसपालि चिन्ताको केन्द्र बनेको छ । प्रतिकूल मौसम र किराको प्रकोपले गहुँबालीमा ठूलो असर परेपछि किसानहरू निराश मात्रै होइन, आर्थिक संकटको चपेटामा परेका छन् ।

मधेस प्रदेश मा धानपछि दोस्रो मुख्य बालीका रूपमा लिइने गहुँ यस वर्ष राम्रोसँग नपाक्दै नष्टजस्तै बनेको छ । विशेषगरी चैतको सुरुमै आएको हावाहुरी र असिनापानीले बाली ढालिदिँदा दाना नै नलाग्ने अवस्था सिर्जना भएको हो ।

धनुषा जिल्ला मा मात्रै करिब ३४ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ । तर यसपालि किसानको मेहनत, लगानी र आशा ,सबै एकैचोटि धराशायी भएको दृश्य देखिन्छ ।

जनकपुर उपमहानगरपालिका-२३ का किसान विला शाह भन्छन्, “समयमै सिँचाइ र मलखाद दिँदा पनि गहुँ राम्रो भएन, किराले खायो, दाना नै पुष्ट भएन,सबै लगानी डुब्यो।”
त्यस्तै मुखियापट्टीका रामजी यादवको गुनासो छ, “हावाहुरीले बाली सुकायो, दाना कालो भयो, अब के गर्ने थाहा छैन।”

नगराइन-५ का ज्योति झा त झन् ठूलो चिन्तामा छन् । “ऋण लिएर खेती गर्‍यौँ, उत्पादन भएन,अब वर्षभरि के खाने र साहुको ऋण कसरी तिर्ने?” भन्ने प्रश्नले उनीजस्ता हजारौँ किसानलाई सताएको छ ।

कृषि क्षेत्रमा लगानी बढ्दो भए पनि उत्पादन भने यसपालि घट्ने स्पष्ट संकेत देखिएको छ । विगतमा प्रतिहेक्टर ३ मेट्रिक टनभन्दा बढी उत्पादन हुने गरेको तथ्याङ्क भए पनि यस वर्ष मौसम, किराको प्रकोप र गुणस्तरीय बिउ तथा मलखाद अभावका कारण उत्पादन ह्वात्तै घट्ने अनुमान गरिएको छ ।

कृषि ज्ञान केन्द्र धनुषा का कृषि अधिकृत गणेश क्षेत्री भने क्षतिको यकिन विवरण अझै संकलन भइरहेको बताउँछन् । “अनुगमनमा जाँदा केही स्थानमा बाली ढलेको देखिएको छ, तर पूर्ण विवरण स्थानीय तहबाट आएपछि मात्रै स्पष्ट हुन्छ,” उनले भने ।

मधेस प्रदेशलाई देशकै ‘अन्न भण्डार’ मानिन्छ । तर, यही क्षेत्रमा यस्ता समस्या दोहोरिँदा किसानको मनोबल घट्दै गएको छ । गहुँजस्तो पोषणयुक्त बाली—जसमा कार्बोहाइड्रेट, फाइबर र प्रोटिन प्रशस्त पाइन्छ,यसरी प्रभावित हुँदा खाद्य सुरक्षामै चुनौती थपिएको छ ।

सरकारका आश्वासनभन्दा वास्तविक सहयोगको खाँचो रहेको किसानहरूको गुनासो छ । समयमै राहत, प्रविधि र बजार सुनिश्चित नभए कृषि पेशाबाट विमुख भई वैदेशिक रोजगारीतर्फ पलायन बढ्ने खतरा पनि उत्तिकै गम्भीर बन्दै गएको छ ।

पोडकास्ट सुन्नुहोस