वीरगन्ज –
नेपाली सुनचाँदी बजार यतिबेला निरन्तर उतारचढावको चपेटामा परेको छ । मूल्य कहिले आकस्मिक रूपमा बढ्ने त कहिले झट्कामा घट्ने क्रमले व्यापारी मात्र होइन, सर्वसाधारणसमेत अन्योलमा परेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने यही सुन २ लाख ९४ हजार रुपैयाँसम्म पुगेको थियो ।
चाँदीतर्फ पनि समान प्रवृत्ति देखिएको छ । आज चाँदीको मूल्य घटेर तोलामा ४ हजार ७ सय ८० रुपैयाँमा झरेको छ, जुन आइतबारको ४ हजार ८३० रुपैयाँको तुलनामा कम हो ।
तर, आजको गिरावट मात्र होइन,पछिल्लो एक महिनायता बजारमा असामान्य उतारचढाव देखिएको व्यापारीहरू बताउँछन् । कहिले सुनको भाउ तोलामा हजारौँले बढ्ने त कहिले एकैदिनमा झर्ने क्रमले कारोबार प्रभावित भएको छ । यसले लगानी जोखिम बढाएको र ग्राहक पनि ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् ।
व्यापारीहरूका अनुसार मूल्य अस्थिर हुँदा किनबेच दुवै घटेको छ । ग्राहकले मूल्य घट्ने आशामा खरिद रोकेको र व्यापारीले पनि ठूलो स्टक राख्न हिच्किचाएको अवस्था छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलरको उतारचढाव र भूराजनीतिक तनावका कारण सुनचाँदीको मूल्यमा यस्तो तीव्र परिवर्तन आएको विश्लेषण गरिएको छ ।
लगातारको घटबढले बजारमा अनिश्चितता बढाएको छ,अब मूल्य स्थिर हुन्छ कि अझै उकालो-ओरालो लाग्छ भन्ने प्रश्नमा व्यापारी र उपभोक्ता दुवै प्रतीक्षामा छन् ।













