२०८३ बैशाख ३ गते, बिहीबार ११:०५

टाइमको सूचीमा ‘बालेन’को उदय, मोदी बाहिर—विश्व राजनीतिमा नयाँ सन्देश

काठमाडौँ –

विश्व राजनीतिमा अप्रत्याशित तर निकै चर्चित मोड आएको छ। अमेरिकाको प्रतिष्ठित टाइम म्यागेजिनले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) परेका छन्, तर यसपटक सूचीबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बाहिरिएका छन्।

यो परिवर्तनले दक्षिण एसियाली राजनीतिमा मात्रै होइन, विश्वव्यापी शक्ति सन्तुलन र नेतृत्वको शैलीबारे नयाँ बहस सुरु गरिदिएको छ।

यस वर्षको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ जस्ता शक्तिशाली नेताहरू समावेश हुँदा, ३५ वर्षीय शाहको उदयलाई विशेष चासोका साथ हेरिएको छ। नेताहरूको सूचीमा विश्वभरबाट २५ जना मात्र छनोट भएका छन्। विश्वका २५ जना राजनीतिक नेताहरुमध्य बालेन शाहलाई टाइमसले १३ औं स्थानमा राखेको छ ।

टाइमका एडिटर एट लार्ज चार्ली क्याम्पबेल ले तयार पारेको प्रोफाइलमा शाहलाई “युवाहरूको राजनीतिक जागरणको प्रतीक” का रूपमा चित्रण गरिएको छ। फागुन २१ मा सम्पन्न निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दै सत्तामा पुगेका शाहको सफलतामा युवापुस्ताको लहर र अघिल्लो वर्षको जनआन्दोलन निर्णायक बनेको विश्लेषण गरिएको छ।

परम्परागत र वंशवादी राजनीतिप्रति बढ्दो असन्तुष्टिको पृष्ठभूमिमा उभिएका शाहले ‘सिस्टम ब्रेक’ गर्ने नेताको छवि बनाएका छन्। राजनीतिमा आउनुअघि हिप-हप कलाकारका रूपमा चिनिएका उनले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखाएको सक्रियता नै राष्ट्रिय लोकप्रियताको आधार बनेको उल्लेख छ।

उनको कडा अभिव्यक्ति, भ्रष्टाचारविरुद्धको खुला अभियान र युवामाझको प्रभावले उनलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि चिनाएको टाइमको विश्लेषण छ।

तर चुनौतीहरू अझै कम छैनन्। आर्थिक असमानता, गरिबी र गहिरो जरा गाडेको संस्थागत भ्रष्टाचारबीच शाहको नेतृत्व कत्तिको प्रभावकारी हुन्छ भन्नेमा विश्वको नजर टिकेको छ।

मोदीजस्तो स्थापित नेताको बहिर्गमन र शाहजस्तो नयाँ अनुहारको प्रवेश ,यो सूचीले स्पष्ट संकेत दिएको छ: विश्व राजनीति अब पुराना शक्तिमात्र होइन, नयाँ सोच र युवा ऊर्जा तर्फ मोडिँदैछ।

पोडकास्ट सुन्नुहोस