२०८३ बैशाख ३ गते, बिहीबार १७:५४

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण: ‘सबै पैत्रिक सम्पत्ति हो, भ्रम नफैलाउनुस्’

काठमाडौँ –

गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे सार्वजनिक भएका समाचार र उठेका प्रश्नहरूका सम्बन्धमा स्पष्टीकरण दिनुभएको छ। संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सार्वजनिक भएको सम्पत्ति आफ्नो हजुरबुवाको पालाको भएको र हालसम्म अंशबण्डा नभएकाले धेरै देखिएको बताउनुभयो।

गत चैत २९ गते मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि गृहमन्त्रीको नाममा रहेको घरजग्गा र नगदलाई लिएर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा विवाद उत्पन्न भएको थियो। सोही विषयलाई प्रष्ट पार्दै उहाँले भन्नुभयो, “यो सम्पत्ति हजुरबुवाकै पालाको अंशबण्डा नहुँदैको हो। यस विषयमा अनावश्यक भ्रम नफैलाउन म सबैलाई आग्रह गर्दछु।”

कहाँ कति छ सम्पत्ति? प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गृहमन्त्री गुरुङको नाममा विभिन्न जिल्लामा उल्लेख्य जग्गा देखिएको छ:

  • गोरखा: चुमनुब्री–३ मा २२१ रोपनी जग्गा।

  • चितवन: भरतपुरमा १८–३० कट्ठा जग्गा।

  • धनकुटा: कार्कीछापमा १९ रोपनी जग्गा।

सुन, चाँदी र बैंक मौज्दात विवरणमा उल्लेख भए अनुसार गृहमन्त्रीसँग ८९ तोला सुन, ६ किलो चाँदी र करिब ६० लाख रुपैयाँ नगद रहेको छ। सुनलाई उहाँले पैत्रिक सम्पत्तिको रूपमा उल्लेख गर्नुभएको छ। यस्तै बैंक मौज्दाततर्फ:

  • नबिल बैंक: ५६ लाख २५ हजार ९७६ रुपैयाँ।

  • लक्ष्मी सनराइज बैंक: ५ लाख ३५ हजार ४०० रुपैयाँ।

  • सानिमा बैंक: १ हजार ५७४ रुपैयाँ।

सार्वजनिक विवरणमा नगद आम्दानीको निश्चित स्रोत नखुलाइएको विषयमा पनि प्रश्न उठेका थिए। यद्यपि, गृहमन्त्रीले यी सबै विवरण पारदर्शी ढंगले बुझाएको र यो आफ्नो पारिवारिक पृष्ठभूमिबाट आएको सम्पत्ति भएको दाबी गर्नुभएको छ।

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस