२०८३ बैशाख ३ गते, बिहीबार १७:५१

कांग्रेस आधिकारिकता विवाद: सर्वोच्चमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा, भोलि पुनः बहस हुने

काठमाडौँ 

नेपाली कांग्रेसको आधिकारिकता र विशेष महाधिवेशनबाट चुनिएको नयाँ कार्यसमिति विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बिहीबारको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भइरहेको बहसमा रिट निवेदकको पक्षबाट बहस नसकिएपछि बाँकी सुनुवाइ शुक्रबारका लागि तय गरिएको हो।

बिहीबार रिट निवेदक शेरबहादुर देउवाका तर्फबाट कानुन व्यवसायीहरू र सरकारी वकिलले बहस गरेका थिए। शुक्रबार भने विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा लगायतको पक्षबाट कानुन व्यवसायीहरूले बहस गर्ने तालिका रहेको छ।

तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काको वारेसका रूपमा श्रवणकुमार श्रेष्ठले गत माघ ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न र विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई अवैधानिक घोषणा गर्दै भङ्ग गर्न माग गरिएको छ।

यसअघि माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यस मुद्दामा केही गम्भीर संवैधानिक र कानुनी प्रश्नहरूको निरूपण हुनुपर्ने ठहर गरेको थियो। त्यस्तै, चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिन आदेश दिएको थियो।

 कांग्रेसको दुई पक्षबीचको यो कानुनी सङ्घर्षले पार्टीको वैधानिकतामाथि नै प्रश्न उठाएको छ। भोलि शुक्रबार थापा पक्षका वकिलहरूको बहसपछि सर्वोच्चले कुनै अन्तरिम आदेश दिने वा मुद्दालाई किनारा लगाउने भन्ने विषयमा राजनीतिक र कानुनी क्षेत्रमा चासोका साथ हेरिएको छ।

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस