२०८३ बैशाख ८ गते, मंगलवार १५:००

वीरगन्ज नाकाको व्यापार घाटा १२ प्रतिशतले घट्यो

बि.चौहान

वीरगन्ज- 

नेपालको ‘लाइफलाइन’का रूपमा चिनिने वीरगन्ज नाकाको व्यापार घाटा १२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट हुने मालवस्तुको निर्यात वृद्धि भएसँगै व्यापार घाटा १२.२३ प्रतिशतले कमी आएको हो।

आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि चैतसम्मको नौ महिनामा वीरगन्ज नाका प्रयोग गरी भएको आयात-निर्यातमा ७८४.८० प्रतिशतको असन्तुलन रहेको थियो। तर चालु आर्थिक वर्षको सोही अवधिमा यो असन्तुलन घटेर ७७२.५६ प्रतिशतमा झरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाका प्रयोग गरी ६ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको थियो भने ६९ अर्ब ३५ करोड रुपैयाँको निर्यात भएको थियो। त्यसबेला आयात र निर्यातबीच ५ खर्ब ४४ अर्ब २६ करोड रुपैयाँको व्यापार असन्तुलन देखिएको थियो।

चालु आर्थिक वर्षको सोही अवधिमा भने ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ बराबरको मालवस्तु आयात हुँदा ७९ अर्ब ५४ करोड रुपैयाँको निर्यात भएको छ। यसअनुसार चालु आवको नौ महिनामा व्यापार असन्तुलन ६ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ रहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका अनुसार समीक्षा अवधिको तुलनामा चालु आर्थिक वर्षमा वीरगन्ज नाका प्रयोग गरी हुने निर्यात करिब १५ प्रतिशतले बढेको छ। गत वर्षको नौ महिनामा ६९ अर्ब ३५ करोड रुपैयाँको निर्यात भएकोमा चालु आवमा १० अर्ब १९ करोडले वृद्धि भई ७९ अर्ब ५४ करोड पुगेको छ।

नेपालका लागि करिब ७० प्रतिशत इन्धन तथा औद्योगिक कच्चा पदार्थ र ६० प्रतिशतभन्दा बढी खाद्यान्न आयात हुने वीरगन्ज नाकामा व्यापार घाटा घटे पनि राजस्व संकलन लक्ष्य भने पूरा हुन सकेको छैन।

चालु आर्थिक वर्षको नौ महिनाका लागि १ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको वीरगन्ज भन्सार कार्यालयले लक्ष्यभन्दा २१ अर्ब ६८ करोड कम अर्थात १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ, जुन लक्ष्यको तुलनामा १०.८७ प्रतिशत कम हो।

यद्यपि, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने राजस्व संकलनमा करिब १० प्रतिशत वृद्धि भएको छ। गत वर्ष नौ महिनामा १ खर्ब ६१ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु आवमा १६ अर्ब २० करोड रुपैयाँ बढी संकलन भएको हो।

पोडकास्ट सुन्नुहोस