२०८३ बैशाख ९ गते, बुधबार १३:०८

सरकारी कर्मचारीलाई अब महिनामा दुईपटक तलब

काठमाडौं-

सरकारी कर्मचारीलाई महिनामा दुईपटक तलब दिने खबर बाहिरिएपछि धेरैजना छक्क परे। न कर्मचारीको माग, न सार्वजनिक बहस, अचानक यस्तो निर्णय किन आयो ?

खोजी गर्दा थाहा भयो, यो योजना कर्मचारीबाट होइन, अर्थ मन्त्रालयबाटै आएको रहेछ। अर्थमन्त्रीले विदेशमा चलिरहेको ‘पाक्षिक तलब प्रणाली’ नेपालमा पनि लागू गर्न खोजेका हुन्न ।

अब व्यवस्था लागू भए कर्मचारीले महिनाको अन्त्य कुर्नु पर्दैन, १५–१५ दिनमा खातामा तलब आउनेछ। तर, यो सुविधा तत्काल लागू भने हुने छैन। कानुनी र प्राविधिक तयारीका कारण कम्तीमा साउनपछि मात्र कार्यान्वयनमा आउने सम्भावना छ।

सरकारको मुख्य लक्ष्य भने स्पष्ट छ ।सुस्तिएको अर्थतन्त्र चलायमान बनाउने। बजारमा माग घटेको, कारोबार कम भएको अवस्थामा छिटो-छिटो पैसा प्रवाह गराएर आर्थिक गतिविधि बढाउने योजना हो।

अर्थ मन्त्रालयका अधिकारीहरू भन्छन्, “१५ दिनमै तलब आएपछि खर्च पनि छिटो हुन्छ, बजार चल्छ।” यसले निजी क्षेत्रलाई समेत यस्तै प्रणाली अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

तर, अझै धेरै प्रश्न बाँकी छन् । कट्टी कसरी हुने ? करार कर्मचारीको अवस्था के हुन्छ ? कानून कहिले संशोधन हुन्छ ?

जे भए पनि, यदि यो योजना लागू भयो भने नेपालीहरूको ‘महिनाको अन्त्य कुर्ने’ बानी नै बदलिन सक्छ।

पोडकास्ट सुन्नुहोस