काठमाडौँ –
कार्यालयमा नियमित काम गरिरहेकै बेला म एक्कासी बेहोस् भएँ। के कारणले यस्तो भयो, त्यो क्षण मलाई केही सम्झना छैन। धेरै समयसम्म होस नआएपछि अफिसका साथीहरूले मलाई नजिकै रहेको बानेश्वरस्थित सिभिल हस्पिटलमा पु¥याएछन् ।
अस्पतालको इमर्जेन्सी कक्षमा मेरो उपचार भइरहेको रहेछ । लामो समयसम्म पनि होस नफर्किएपछि चिकित्सक तथा नर्सहरूले मलाई होसमा ल्याउन विभिन्न प्रयास गरिरहेका थिए । पछि थाहा भयो, मेरो छातीमा बारम्बार हातले थिचेर ‘सीपीआर’ जस्तो प्रक्रिया गरिएको रहेछ । त्यसबेला मेरो शरीरले कुनै प्रतिक्रिया नदिए पनि कानले भने वरिपरिको आवाज सुन्ने रहेछ ।
त्यस क्रममा ब्लड टेस्टका लागि रगत निकाल्ने तयारी भइरहेको थियो । कमजोरी धेरै भएकाले सलाइन चढाउने निर्णय भयो । एकजना नर्स मेरो हातमा नसा खोज्दै सुई लगाउन थाल्नुभयो । पछि थाहा भयो, उहाँले मेरा साथीहरूलाई बाहिर पठाइसक्नुभएको रहेछ । म अर्धचेत अवस्थामा थिएँ, शरीर चलाउन सक्दिनथेँ, तर भइरहेको सबै कुरा भित्रभित्रै महसुस गरिरहेकी थिएँ ।
धेरै बेरसम्म नसा भेटिएन । थोरै मात्र सुई नसामा छिराएपछि एक्कासी अर्को नर्सलाई बोलाउँदै ‘दिदी’ भनेर सहायता मागियो । अर्को जना नर्स आएर भन्नुभयो,‘तिमीलाई अस्ति पनि सिकाएको होइन ? अलि भित्रसम्म छिराऊ सुईलाई ।’ त्यो वाक्य सुन्दा म झस्किएँ । त्यो क्षण मलाई लाग्यो,मेरो हात उपचारको माध्यमभन्दा बढी अभ्यासको ‘डमी’ बनिरहेको थियो ।
सायद धेरै दुखेको भएर होला, मेरो शरीरले बिस्तारै प्रतिक्रिया दिन थाल्यो । हातमा पीडा तीव्र रूपमा महसुस भइरहेको थियो । केहीबेरपछि बल्ल मेरो होस पूर्ण रूपमा फर्कियो। त्यसपछि मलाई ‘रेड रुम’बाट ‘ग्रीन रुम’मा सारियो।
तर मेरो सबैभन्दा ठूलो पीडा छातीमा थियो । सलाइन चडाएकाले पिसाबले एकदमै च्यापिरहेको थियो । म साथीहरुको सहायता लिएर बाथरुम गएँ । त्यहाँ ऐनामा हेर्दा घाँटीभन्दा अलि तल एउटा घाउ देखेँ । पूरै नङ गाडिएजस्तो चोट । म आत्तिएँ ।साथीहरूलाई सोध्दा उनीहरूले भने, ‘होसमा ल्याउन नर्सहरूले धेरै थिचिरहेका थिए । त्यो सुनेपछि म बाहिर शान्त देखि पनि भित्रभित्रै रोइरहेकी थिएँ। मैले मन मनै प्रश्न पनि गरे के ‘सीपीआर’ गर्दा पाँच वटा औलाका नङ गाडिन्छ ?
घाउ सानो देखिन्थ्यो, तर पोलाइ असह्य थियो । त्यही घाउकै कारण त्यो दिन ज्वरोसमेत आयो । केही घण्टापछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएँ, तर तीन दिन बितिसक्दा पनि घाउको पीडा कम भएको छैन ।
जब–जब म त्यो घाउ हेर्छु, एउटा प्रश्न बारम्बार मनमा उठ्छ-के उपचारको नाममा बिरामीलाई यसरी चोट पु¥याउन मिल्छ ? यदि उपचार गर्ने व्यक्ति सिकाइको चरणमा थिइन् भने, के इमर्जेन्सीमा ल्याइएको बिरामीमाथि त्यसरी अभ्यास गर्न पाइन्छ ?, के हरेक विरामी स्वास्थ्यकर्मीका प्रयोगशाला हुन् ?
अस्पताल भनेको बिरामीले सबैभन्दा बढी विश्वास गर्ने ठाउँ हो । तर जब त्यही ठाउँको अनुभवले डर, पीडा र असुरक्षा मात्र छोडेर जान्छ, तब प्रश्न उठ्नु स्वाभाविक हुन्छ । मेरो यो भोगाइ केवल व्यक्तिगत पीडा मात्र होइन, स्वास्थ्य सेवामा जिम्मेवारी, संवेदनशीलता र व्यावसायिकताको गम्भीर प्रश्न पनि हो । त्यसैले राज्यले सामान्य लाग्ने यस्ता महत्वपूर्ण गतिविधिमा ध्यान दिनुपर्छ । त्यसैले अब अस्पतालहरु प्रयोगशाला वा अभ्यासस्थल नबनाइयोस ।













