२०८३ बैशाख १८ गते, शुक्रबार ०९:४६

आज विश्वभर मनाइँदै बुद्ध जयन्ती

काठमाडौँ –

मानव इतिहासका महान् शान्तिदूत सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज श्रद्धा, भक्ति र शान्तिको कामनासहित देशभर तथा विश्वभर मनाइँदै छ। भगवान् विष्णुको नवौँ अवतारका रूपमा समेत मानिने बुद्धप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज विशेष पूजा, ध्यान, प्रवचन र धार्मिक कार्यक्रम आयोजना भइरहेका छन्।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पावन पर्व केवल जन्मदिन मात्र होइन ,बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै महत्वपूर्ण घटना यही दिन परेकाले यसको महत्त्व अझ गहिरो बनेको छ। मानवता, करुणा र अहिंसाको सन्देश फैलाउने बुद्धका उपदेश आज पनि उत्तिकै सान्दर्भिक छन्। “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” भन्ने उनका विचारले विश्वलाई नै मार्गदर्शन गरिरहेको छ।

आजका दिन लुम्बिनी, स्वयम्भूनाथ स्तूप र बौद्धनाथ स्तूप लगायतका पवित्र स्थलहरूमा भक्तजनको घुइँचो लागेको छ। गुम्बा, विहार र चैत्यहरूमा लामा तथा बौद्ध गुरुहरूको उपस्थितिमा पूजाअर्चना, ध्यान साधना र प्रवचनका कार्यक्रम भव्य रूपमा सञ्चालन भइरहेका छन्।

इतिहासका पाना पल्टाउँदा, इसापूर्व ५६३ मा लुम्बिनी उद्यानमा राजा शुद्धोधन र माता मायादेवीको पुत्रका रूपमा जन्मिएका सिद्धार्थ गौतम राजकुमार भएर पनि जीवनका दुःख देखेर विचलित भए। अन्ततः २९ वर्षको उमेरमा उनले दरबारको सुखसुविधा त्यागेर सत्यको खोजीमा निस्किए र त्यसै यात्राले उनलाई ‘बुद्ध’ बनायो।

आजको दिन केवल उत्सव होइन, आत्मचिन्तनको पनि अवसर हो—जहाँ बुद्धका सन्देशहरूलाई जीवनमा उतार्दै शान्ति, सहिष्णुता र मानवताको बाटोमा अघि बढ्ने प्रेरणा लिइन्छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस