काठमाडौं –
नेपालमा इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान गर्ने ग्राहकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्मको तथ्याङ्क अनुसार इन्टरनेट जडान गर्नेको कुल सङ्ख्या ३० लाख ९६ हजार ५२ पुगेको छ।
अघिल्लो महिना फागुनमा यो सङ्ख्या ३० लाख ६२ हजार २०४ रहेको थियो, जसको अर्थ एक महिनामै ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ३३ हजार ८४८ ले बढेको देखिन्छ।
वर्ल्डलिंक नम्बर वान, सुबिसुको छलाङ
ग्राहक संख्याको आधारमा वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकका रूपमा आफ्नो साख जोगाउन सफल भएको छ। चैत्र मसान्तसम्म वर्ल्डलिंकको ग्राहक सङ्ख्या १० लाख ७३ हजार ९०३ पुगेको छ।
त्यसैगरी, सुबिसु केबलनेटले पनि आफ्नो बजार विस्तारमा ठूलो फड्को मारेको छ। सुबिसुको ग्राहक संख्या अघिल्लो महिना २ लाख ६० हजार ७२४ रहेकोमा चैत्रमा २ लाख ८२ हजार ८४९ पुगेको छ।
डिश मिडिया र टेकमाइण्ड्सको ग्राहकमा गिरावट
तथ्याङ्क अनुसार केही ठूला कम्पनीहरूको ग्राहक सङ्ख्यामा भने गिरावट देखिएको छ। डिश मिडिया नेटवर्कको जडान सङ्ख्या ३ लाख ७९ हजार २९९ बाट घटेर ३ लाख ७४ हजार ३१९ मा झरेको छ। त्यस्तै, टेकमाइण्ड्स नेटवर्क र वेबसर्फर नेपालको ग्राहक सङ्ख्यामा पनि चैत्र महिनामा ह्रास आएको प्राधिकरणको प्रतिवेदनले देखाएको छ।
चैत्र मसान्तसम्मका टप १० इन्टरनेट सेवा प्रदायकहरू:
| स्थान | सेवा प्रदायकको नाम | चैत्र मसान्तसम्मको ग्राहक सङ्ख्या |
| १ | वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड | १०,७३,९०३ |
| २ | डिश मिडिया नेटवर्क | ३,७४,३१९ |
| ३ | भायानेट कम्युनिकेशन प्रालि | ३,५७,७७१ |
| ४ | क्लासिक टेक प्रालि | २,८४,०२१ |
| ५ | सुबिसु केबलनेट प्रालि | २,८२,८४९ |
| ६ | वेबसर्फर नेपाल कम्युनिकेशन | १,७३,५०९ |
| ७ | टेकमाइण्ड्स नेटवर्क प्रालि | १,२२,२०३ |
| ८ | वाइफाइ नेपाल प्रालि | १,०६,५०० |
| ९ | सिजी कम्युनिकेसन प्रालि | ८८,७३८ |
| १० | ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन | ५५,७३० |
प्राधिकरणका अनुसार अन्य साना आईएसपीहरूका साथै यी ठूला कम्पनीहरूको प्रतिस्पर्धाले गर्दा बजारमा इन्टरनेट पहुँचको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ।











