काठमाडौँ –
प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई फेरि एक पटक “जागिर सम्झेर होइन, जिम्मेवारी सम्झेर काम गर्नुस्” भन्दै खुला पत्र पठाएका छन्। पत्र पढ्दा यस्तो लाग्छ,सरकारलाई अब अलिकति नसोधी चिया पनि खान नदिने मूडमा साम्पाङ देखिएका छन्।
“संसद छलेर चल्ने सरकार ज्यू” भनेर सुरु गरिएको पत्रमा उनले सीमा सुरक्षा, सुकुमबासी समस्या र अर्थतन्त्रका विषयमा यस्तो प्रश्न उठाएका छन् कि सरकारलाई बैठक बस्नुभन्दा पहिले नै बैठकको एजेन्डा गुम्ने अवस्था आएको छ।
लिपुलेक हुँदै भारतले कैलाश-मानसरोवर जाने बाटो बनाइरहँदा सरकार मौन बसेको विषयमा उनले यस्तो व्यंग्यात्मक प्रश्न गरेका छन्, “कि कूटनीतिक नोट लेख्ने कागज नै सकिएको हो कि सरकारलाई सीमा कहाँ पर्छ भन्ने गुगल म्याप अपडेट आउन बाँकी छ?”
सेनाको भूमिकाबारे पनि उनले सरकारलाई हल्का झट्का दिएका छन्। “सेनालाई मन्त्रीहरूको व्यक्तिगत सहायक बनाउने होइन है” भन्ने शैलीमा उनले व्यंग्य गर्दै भनेका छन्, सिमानामा बस्नुपर्ने सेना कतै मन्त्रीको ढोका खोल्न व्यस्त त छैन?
सुकुमबासी बस्ती हटाउन दिनभर डोजर दौडाउने सरकारलाई पनि उनले सुझावको नाममा व्यंग्य हानेका छन्, “डोजरलाई अलिकति ब्रेक दिनुस्, सुकुमबासीभन्दा पहिले रोशी खोलाले भत्काएको बाटो सम्हाल्न पठाए कस्तो होला?”
विदेशी ऋणको विषयमा त उनले अझै तिखो व्यंग्य गरेका छन्, “ऋण लिँदा लिँदा देशलाई ATM बनाइसक्नुभयो, अब PIN पनि माग्ने हो कि?”
अन्त्यमा साम्पाङको सन्देश झनै ‘फाइनल नोटिस’ शैलीको छ, सरकारलाई काम गर्न नसके “राजीनामा दिएर आराम गर्न” सुझाव दिँदै उनले भनेका छन्, “देश चलाउने कुरा Netflix सिरिज होइन, बीचमा रोक्न मिल्दैन।”
बजेट बनाउँदा सबैलाई समेट्नुपर्ने र सरकारले के गर्दैछ भन्ने कुरा प्रेस ब्रिफिङमार्फत जनतालाई बुझाउनुपर्ने उनको माग भने यथावत छ— तर यो पटक शैली चाहिँ अलि बढी “पन्चलाइनयुक्त” बनेको छ।












