२०८३ बैशाख २२ गते, मंगलवार १८:३४

जनमतको आन्तरिक विवाद सतहमा

वीरगन्ज-

मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कुनै सोच नभएको जनता समाजवादी पार्टी नेपालका महासचिव लालबाबु राउत गद्दीले जानकारी दिनुभएको छ।

उहाँले नेपाली कांग्रेसको नेतृत्वमा मधेस प्रदेशमा रहेको सरकारलाई दिएको समर्थन यथावत रहेको स्पष्ट पार्नुभयो।

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जसपा रहेको भन्ने खबर भ्रामक रहेको बताउँदै महासचिव गद्दीले भन्नुभयो, “हाम्रो पार्टीले सरकारलाई समर्थन दिएको छ र त्यसमा हामी अहिले पनि कायम छौं।” जसपा नेपालले समर्थन फिर्ता लिन प्रदेशसभा सदस्यहरूबीच हस्ताक्षर संकलन गराइरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको उहाँको भनाइ छ।

यसअघि जनमत पार्टीका मुख्य सचेतक चन्दन सिंहले हिजो मधेस प्रदेश प्रमुखलाई भेटी ९ जना प्रदेशसभा सदस्यद्वारा हस्ताक्षरित पत्र बुझाउँदै समर्थन फिर्ता लिएको बताएका थिए। यसै सन्दर्भमा जनमत पार्टी संसदीय दलका नेता एवं मधेस प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवले आज प्रदेश प्रमुख कार्यालयलाई पत्र लेखी सरकारलाई दिएको समर्थन यथावत रहेको जानकारी गराएका छन्।

सरकारमा सहभागी रहेको पार्टीका मन्त्रीहरूप्रति असन्तुष्ट भएका जनमत पार्टीका केही नेताहरूले समर्थन फिर्ताको खेल रचेको स्रोतले जनाएको छ। जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउत सरकारमा सहभागी पार्टीका नेताहरूसँग रुष्ट रहेको र उहाँकै निर्देशनमा प्रमुख सचेतक सिंहले समर्थन फिर्ताको पत्र पठाएको बताइएको छ।

मधेस प्रदेश सरकारमा रहेका जनमत पार्टीका मन्त्रीहरूले अध्यक्ष राउतलाई समयमा ‘नजराना’ नबुझाएको कारण समर्थन फिर्ताको खेल रचिएको दाबी समेत गरिएको छ। सरकारमा सहभागी एक मन्त्रीका अनुसार पार्टी अध्यक्षको माग पूरा नगरेकाले मन्त्रीहरूप्रति असन्तुष्टि बढेको र सोही कारण यस्तो कदम चालिएको हो।

यद्यपि, जनमत पार्टीले समर्थन फिर्ता लिए पनि वर्तमान मधेस प्रदेश सरकारसँग स्पष्ट बहुमत रहेको स्रोतको दाबी छ।

नेपाली कांग्रेस मधेस प्रदेशका अध्यक्ष कृष्णप्रसाद यादव नेतृत्वको वर्तमान सरकारलाई हाल जनमतबाहेक जसपा नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी पार्टीको समर्थन रहेको छ।

मधेस प्रदेश सभामा नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमत पार्टीका १२, लोसपाका ८, नेकपा माओवादी केन्द्रका १५ र संघीय समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य गरी कुल ७६ सदस्यको समर्थन रहेको छ। मधेस प्रदेश सभामा कुल १०१ सदस्य संख्या रहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस