२०८३ बैशाख २९ गते, मंगलवार ११:०७

एसईईको नतिजापछि वीरगन्जमा १५ वर्षीय किशोरद्वारा आत्महत्या

वीरगन्ज-

सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्।

पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं. ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका हुन्।

पारिवारिक स्रोतका अनुसार सोमबार राति नतिजा सार्वजनिक भएपछि शन्नी निकै निरास र चिन्तित थिए। उनी वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए। राति करिब ११:३० बजे परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाई गरिरहेकै अवस्थामा उनी अचानक दौडिएर आफ्नो कोठामा छिरेका थिए।

“हामीले सम्झाउने प्रयास गरिरहेका थियौँ, तर उनी अचानक कोठामा गएर ढोका बन्द गरे,” परिवारका एक सदस्यले भने, “कोठाको ढोका फलामको भएकाले फुटाउन समय लाग्यो, ढोका खोलेर हेर्दा बाबुले ओछ्यानको तन्ना (चादर) को पासो लगाएर प्राण त्यागिसकेका थिए।”

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हरेक वर्ष एसईईको नतिजापछि यस्ता दुःखद घटनाहरू सार्वजनिक हुने गरेका छन्। शिक्षाविद् र मनोपरामर्शदाताहरूले परीक्षाको नतिजा नै जीवनको अन्तिम फैसला नभएको भन्दै बालबालिकाहरूलाई मानसिक दबाब नदिन र यस्तो अवस्थामा परिवारले विशेष ख्याल गर्न सुझाव दिँदै आएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस