धादिङ–
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्।
गए राति काठमाडौँबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। सोही क्रममा उक्त बसलाई पुनः वीरगञ्जतर्फ गइरहेको अर्को बा ०१–००६ ख ६७१६ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा शृङ्खलाबद्ध दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार तीनवटै सवारी साधनमा गरी कुल ६८ जना यात्रु सवार थिए।
दुर्घटना लगतै इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीयको सक्रियतामा घाइतेहरूको उद्धार गरिएको थियो। घाइते ३७ जनामध्ये ३ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी ३४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
हाल २८ जनाको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर र शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा उपचार भइरहेको छ। अन्य ६ जनालाई भने थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न तीनवटै सवारी साधनका चालकहरूलाई नियन्त्रणमा लिएको छ। तीव्र गति वा प्राविधिक कारण के हुनसक्छ भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।











