काठमाडौँ-
देशभर सञ्चालनमा रहेका अव्यवस्थित, फोहोर र असुरक्षित पेट्रोल पम्पहरूमाथि नेपाल आयल निगमले कडा कदम चाल्न सुरु गरेको छ। वर्षौंदेखि उपभोक्ताको गुनासोलाई बेवास्ता गर्दै आएका पम्पहरूलाई निगमले आफ्नो अवस्था सुधार्न ७ दिनको अल्टिमेटम दिएको हो। तोकिएको समयभित्र मापदण्ड पूरा नगरे इन्धन आपूर्ति रोक्का गर्नेदेखि लाइसेन्स नवीकरण नगर्नेसम्मको कारबाही गर्ने निगमले चेतावनी दिएको छ।
निगमले सातै प्रदेशका कार्यालय र डिपोमार्फत जारी गरेको परिपत्रअनुसार, अधिकांश पेट्रोल पम्पहरू न्यूनतम सेवा मापदण्डमै असफल देखिएका छन्। हालै गरिएको अनुगमनका क्रममा कतिपय पम्पहरूमा अग्नि सुरक्षाका उपकरणहरूको म्याद गुज्रिएको, कतै कामै नगर्ने अवस्थामा रहेको र कतिपय स्थानमा उपकरण नै नराखिएको भेटिएपछि निगम आक्रामक बनेको हो। अब प्रत्येक पम्पमा फायर एक्स्टिङ्गुइशर (अग्निनियन्त्रक उपकरण), बालुवा, पानीको पर्याप्त स्रोत तथा आपतकालीन सुरक्षा प्रणाली अनिवार्य रूपमा दुरुस्त राख्न निर्देशन दिइएको छ।
सुरक्षाका साथै निगमले पम्पहरूमा रहेका फोहोर र दुर्गन्धित शौचालयमाथिसमेत कडा आपत्ति जनाएको छ। विशेषगरी राजमार्ग क्षेत्रका पम्पहरूमा यात्रुले प्रयोग गर्नै नसक्ने शौचालय, खानेपानीको अभाव र फोहोर वातावरणका कारण व्यापक आलोचना हुँदै आएको थियो। अबदेखि सफा शौचालय, स्वच्छ खानेपानी र नियमित सरसफाइलाई अनिवार्य गरिएको छ।
त्यसैगरी, जीर्ण क्यानोपी, रङ उडेका संरचना, तेल चुहावट र फोहोर थुपारेर व्यवसाय चलाइरहेका पम्पहरूलाई तत्काल मर्मत, रङ्गरोगन र हरियाली व्यवस्थापन गर्नसमेत भनिएको छ। निगमले अब पेट्रोल पम्पलाई केबल “इन्धन हाल्ने ठाउँ” मात्र नभई स्वच्छ “सेवा केन्द्र” का रूपमा विकास गर्नुपर्ने स्पष्ट पारेको छ। यसका साथै मूल्यसूची स्पष्ट नराख्ने र उपभोक्तासँग अतिरिक्त रकम असुल्ने पम्पमाथिसमेत कडा निगरानी गरिने जनाइएको छ।
उपभोक्ता अधिकारकर्मीहरूले निगमको यो कदम ढिलो भए पनि स्वागतयोग्य रहेको बताएका छन्। यद्यपि, सर्वसाधारणले भने विगतमा पनि यस्ता चेतावनी आउने तर कारबाही नहुने गरेको स्मरण गर्दै यो निर्देशन कागजमै सीमित नभई व्यवहारमा देखिनुपर्ने माग गरेका छन्। ७ दिने अल्टिमेटमपछि देशभरका पेट्रोल पम्पको अवस्था कस्तो हुन्छ भन्ने कुरा निगमको आगामी अनुगमनले तय गर्नेछ।












