२०८३ जेष्ठ ७ गते, बिहीबार २०:५७

एकीकृत जसपा नेपालको संसदीय दलको नेतामा सरोजकुमार यादव चयन, मधेस प्रदेशसभामा सबैभन्दा ठुलो दल

जनकपुरधाम

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशको संसदीय दलको नेतामा पूर्वमुख्यमन्त्री सरोजकुमार यादव (बारा) चयन भएका छन्। जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकता भएपछि बनेको एकीकृत पार्टीको संसदीय दलको नेतामा यादव सर्वसम्मत चयन भएका हुन्।

जसपा नेपालका प्रदेश सांसद सञ्जय यादवका अनुसार दुई पार्टी एक भएपछि जनकपुरस्थित संसदीय दलको कार्यालयमा लगातार दुई दिन (हिजो र आज) बसेको बैठकले यादवलाई नै दलको नेता निरन्तरता दिने निर्णय गरेको हो। यसअघि पार्टी एकीकरण हुनुपूर्व पनि जसपा नेपालको संसदीय दलको नेता यादव नै थिए।

दुवै पार्टीबीच ऐतिहासिक एकता भएपछि गत जेठ १ गते मधेस प्रदेशसभामा एकीकृत ‘जसपा नेपाल’ नाममा नयाँ दल दर्ता भएको थियो। दल दर्तापछि पहिलो पटक आधिकारिक रूपमा संसदीय दलको बैठक बसी यो नेतृत्व चयन गरिएको हो।

नेता यादव मधेस प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्। लोसपासँगको एकीकरणपछि मधेस प्रदेशसभामा अब जसपा नेपालका कुल प्रदेशसभा सदस्य (सांसद) को संख्या २६ पुगेको छ। यो संख्यासँगै जसपा नेपाल मधेस प्रदेशसभामा सबैभन्दा ठुलो राजनीतिक दल बन्न सफल भएको छ। नयाँ शक्ति सन्तुलनले मधेस प्रदेशको आगामी सत्ता समीकरण र राजनीतिक दिशामा समेत महत्त्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस