जनकपुरधाम–
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममार्फत प्रदेशसभालाई सम्बोधन गर्न लागेको सचिवालयले जनाएको छ।
साना टुक्रे योजना रोकिने, ठूला आयोजनामा जोड
यस पटकको नीति तथा कार्यक्रममा विगतका वर्षहरूमा आलोचनाको विषय बन्दै आएका साना तथा टुक्रे योजनाहरूलाई निरुत्साहित गर्ने रणनीति लिइएको छ। टुक्रे योजनाहरूका कारण बजेटको प्रभावकारिता नदेखिएको जनगुनासो आएपछि सरकारले यस्तो कदम चालेको हो।
प्रदेश नीति तथा योजना आयोगका अनुसार आगामी आर्थिक वर्षको बजेटमा साना योजना कटौती गर्दै कम्तीमा १ करोड रुपैयाँभन्दा माथिका बहुवर्षीय, प्रदेश गौरवका आयोजना र मझौला खालका योजनाहरूलाई विशेष जोड दिइएको छ। ठूला र रणनीतिक महत्वका योजनामार्फत प्रदेशको विकासलाई गति दिने र बजेट अनुशासन कायम गर्ने लक्ष्य सरकारले राखेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार कृषि, रोजगारी, भौतिक पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर यो नीति तथा कार्यक्रम तयार पारिएको छ। आज सार्वजनिक हुने नीति तथा कार्यक्रमकै जगमा रहेर असार १ गते मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछ।












