वीरगन्ज-
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सरकारको आगामी वर्षको कार्यदिशा र योजनाहरू समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
कूल २७ पृष्ठमा समेटिएको यस पटकको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको रूपान्तरण र व्यवसायीकरणलाई मुख्य प्राथमिकतामा राखिएको छ।
उद्योग र उत्पादनमा जोड: ‘मेड इन मधेस’
प्रदेशको आन्तरिक उत्पादन बढाउन र उद्यमशीलता प्रवर्द्धन गर्न सरकारले विशेष जोड दिएको छ। नीति तथा कार्यक्रममा ‘मेड इन मधेस, समृद्ध प्रदेश’ र ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ जस्ता महत्त्वाकाङ्क्षी नाराहरूलाई केन्द्रमा राखिएको छ। यस अभियानमार्फत प्रदेशभित्रै रोजगारी सिर्जना गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ।
मखानको ब्रान्डिङ र व्यावसायिक प्रवर्द्धन
मधेसको रैथाने एवं उच्च व्यावसायिक सम्भावना भएको मखान खेतीलाई सरकारले विशेष महत्त्व दिएको छ। नीति तथा कार्यक्रममा ‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै मखानको उत्पादन वृद्धि, आधुनिक प्याकेजिङ, लेबलिङ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने नीति अघि सारिएको छ। यसले मधेसका मखान उत्पादक किसानहरूलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास गरिएको छ।
यसअघि नै टुक्रे योजनाहरूलाई निरुत्साहित गर्दै १ करोडभन्दा मातिका गौरवका र बहुवर्षीय योजनामा केन्द्रित हुने बताएको सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रमकै जगमा रहेर आगामी असार १ गते वार्षिक बजेट ल्याउनेछ।
(पूर्णपाठ)












