आकांक्षा धामी, नेपाल न्यूज बैंक
काठमाडौं –
नेपालमा आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । तर, यो हिलो र रोपाइँको रन्को तराईका फाँट र पहाडका गरामा मात्र सीमित छैन; जहाँ धान फल्दैन, त्यहाँ पनि रैथाने स्वाद र मौलिकताका साथ धान दिवस उत्तिकै बडो उत्साहका साथ मनाइँदैछ ।
धान दिवस नेपालमा प्रत्येक वर्ष असार १५ गते मनाइने विशेष कृषि दिवस हो । यो दिन धान रोपाइँको मुख्य समय भएकाले किसानहरूको मेहनत, कृषि उत्पादन र धानको महत्त्वलाई सम्मान गर्न मनाइन्छ । नेपाल कृषि प्रधान देश भएकाले धान प्रमुख खाद्यान्न बाली हो र अधिकांश नेपालीको मुख्य भोजन चामल हो ।
यस दिन किसानहरू खेतमा सामूहिक रूपमा धान रोप्छन्, हिलो खेल्ने, लोकगीत गाउने, नाचगान गर्ने तथा दही–चिउरा खाने परम्परा पनि छ । विभिन्न सरकारी निकाय, कृषि कार्यालय, विद्यालय तथा स्थानीय संस्थाहरूले धान खेतीको प्रवद्र्धन, आधुनिक कृषि प्रविधिको प्रयोग र किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्छन् ।
धान दिवसले कृषि क्षेत्रको विकास, खाद्य सुरक्षा, किसानको सम्मान र उत्पादन वृद्धि गर्न प्रेरणा दिन्छ । साथै, युवाहरूलाई कृषिप्रति आकर्षित गर्न र आधुनिक खेती अपनाउन पनि यो दिवसले महत्वपूर्ण भूमिका खेल्छ ।
तर देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासका साथ मनाइँदै गर्दा नेपालको सबै भू–भाग भने धान खेतीका लागि उपयुक्त छैनन् । हिमाली तथा उच्च पहाडी क्षेत्रमा धानको हरियालीभन्दा जौं, फापर, कोदो, आलु, सिमी र अन्य रैथाने बाली नै किसानको जीवन र संस्कृतिको आधार बनेका छन् । त्यसैले राष्ट्रिय धान दिवस मनाइरहँदा धान नफल्ने भूगोलका किसान र उनीहरूले पुस्तौंदेखि जोगाउँदै आएका रैथाने बालीको महत्व पनि उत्तिकै चर्चाको विषय बनेको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली भए पनि जलवायु, उचाइ र भौगोलिक बनावटका कारण धेरै स्थानमा यसको उत्पादन सम्भव छैन । त्यस्ता क्षेत्रमा स्थानीय समुदायले मौसमअनुकूल रैथाने बालीको संरक्षण गर्दै खाद्य सुरक्षाको आधार निर्माण गरेका छन् । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका असर बढ्दै जाँदा यिनै बालीहरू भविष्यका लागि अझ महत्वपूर्ण विकल्पका रूपमा हेरिन थालेका छन् । धान नफल्ने भुगोलका वासिन्दाले असार १५ लाई दही चिउरा खाने दिनका रुपमा सदुपयोग गरिरहेका छन् ।
जहाँ धान फल्दैन, त्यहाँ कसरी मनाइन्छ असार १५ ?
नेपालका उच्च हिमाली जिल्लाहरू (जस्तैः मनाङ, मुस्ताङ र डोल्पाको माथिल्लो भाग) जहाँ अत्यधिक चिसो र भौगोलिक प्रतिकूलताका कारण धान फल्दैन, त्यहाँका बासिन्दाले पनि असार १५ लाई आफ्नो मौलिक शैलीमा अँगालेका छन् ।
कोदोको सेलरोटी ः धान खेती नहुने क्षेत्रमा रैथाने बालीहरू जस्तै– कागुनो, कोदो, फापर र जौको महत्व धेरै हुन्छ । यस दिन त्यहाँका स्थानीयहरू धानको चामलको सट्टा रैथाने कागुनोको खिर वा कोदोको परिकार बनाएर उत्सव मनाउँछन् ।
चौरीको दूधको दही र चिउरा ः धान नफले पनि बजारबाट आयातित चिउरासँग हिमाली भेगकै रैथाने चौँरी वा याकको दूधबाट बनेको बाक्लो मगमगाउँदो दही र घिउ मिसाएर खाने परम्परा छ । यसले धान दिवसलाई भूगोलभन्दा माथि उठाएर सांस्कृतिक एकताको कडी बनाएको छ ।
धान दिवस नेपाली किसानहरूको परिश्रमको सम्मान गर्ने र कृषि क्षेत्रको महत्त्वलाई उजागर गर्ने महत्वपूर्ण दिवस हो । यसले सबैलाई कृषि उत्पादन बढाउन, किसानको सम्मान गर्न र देशको खाद्य सुरक्षामा योगदान दिन प्रेरित गर्छ ।
यस वर्षको राष्ट्रिय धान दिवसले धान उत्पादनको महत्वसँगै एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ । नेपालको कृषि केवल धानको हरियालीमा सीमित छैन, बरु हिमालदेखि तराईसम्म फैलिएका रैथाने बाली, स्थानीय ज्ञान र कृषि संस्कृतिको संरक्षणमै दिगो भविष्य लुकेको छ । धान फल्ने खेतको हरियोपन जति महत्वपूर्ण छ, धान नफल्ने गाउँमा पुस्तौंदेखि जोगाइएका रैथाने बीउ र परम्परागत खेती प्रणाली पनि त्यत्तिकै मूल्यवान् सम्पदा हुन् ।












