काठमाडौँ-
भारतको उत्तर प्रदेशस्थित चर्चित राम मन्दिरमा चोरी, चन्दाको दुरुपयोग र अनियमितता गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। उत्तर प्रदेश प्रहरीले मन्दिरका कर्मचारीसहित आठ जनालाई पक्राउ गरी बिहीबार आपराधिक मुद्दा दर्ता गरेको सरकारी विज्ञप्तिमा जनाइएको छ।
मन्दिरमा भक्तजनहरूले चढाएको चन्दा वितरणमा ठुलो अनियमितता भएको प्रहरीको भनाइ छ। मिडिया रिपोर्टहरूका अनुसार पक्राउ परेका व्यक्तिहरूमध्ये अधिकांश भक्तजनले दान गरेको नगद, सुन तथा चाँदीका बहुमूल्य वस्तुहरूको गणना र व्यवस्थापन गर्ने कार्यमा संलग्न रहेका थिए।
दुई करोड डलरभन्दा बढी अपचलन भएको आशङ्का
विभिन्न सञ्चारमाध्यमहरूले सो चोरी र अनियमितता प्रकरणमा दुई करोड अमेरिकी डलर (करिब साढे दुई अर्ब नेपाली रुपैयाँभन्दा बढी) को अपचलन भएको हुन सक्ने उल्लेख गरेका छन्। पक्राउ परेका व्यक्तिहरूमाथि आपराधिक विश्वासघात, चोरी, आपराधिक षड्यन्त्र र भ्रष्टाचारको आरोप लगाइएको जारी सरकारी विज्ञप्तिमा उल्लेख छ।
मुख्यमन्त्री योगीद्वारा विशेष अनुसन्धान टोली गठन
घटना बाहिरिए लगत्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस विषयलाई गम्भीरतापूर्वक लिँदै छानबिनका लागि एक विशेष अनुसन्धान टोली (SIT) गठन गरेका छन्। मुख्यमन्त्री आदित्यनाथले यस घटनामा संलग्न कुनै पनि दोषीलाई नछोडिने र कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्दिर व्यवस्थापनभित्रैबाट भएको यति ठुलो परिमाणको आर्थिक हिनामिना र चोरीको घटनाले यतिबेला भारतभरि तरङ्ग पैदा गरेको छ।












