२०८३ असार १७ गते, बुधबार १९:१८

वीरगन्जमा साइकलमा आँपसँगै ब्राउन सुगर बेच्ने भारतीय नागरिक पक्राउ

वीरगन्ज

वीरगन्ज महानगरपालिकामा साइकलमा आँप बेच्ने बहानामा लागुऔषधको कारोबार गर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३० वर्षका गुड्डु आलमलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।

भारतको बिहार राज्य, बेतिया जिल्ला, गोपालपुर थाना अन्तर्गत घोघा ग्राम पञ्चायत वडा नं. २ घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ८ मा डेरा गरी बस्ने आलमलाई प्रहरीले बुधबार साँझ वीरगञ्ज–९ स्थित भुतबङ्गला नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

साइकलमा आँप राखेर सडकको पश्चिम पेटीमा बिक्री गरिरहेका आलमले सोही बहानामा लागुऔषधको समेत अवैध कारोबार गरिरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको विशेष प्रहरी टोलीले सुक्ष्म निगरानी गरी निजलाई कानून बमोजिम खानतलासी गरेको थियो।

खानतलासीका क्रममा साइकलको पछाडिको चक्का नजिक झुण्ड्याइएको प्लास्टिकको बोराभित्र कालो प्लास्टिक र त्यसभित्र फेरि सेतो प्लास्टिकमा लुकाएर राखिएको अवस्थामा लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (DSP) राजु कार्कीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार बरामद गरिएको लागुऔषध प्लास्टिकसहित कुल ३० ग्राम ७१० मिलिग्राम र कालो प्लास्टिक बाहेक २७ ग्राम २९० मिलिग्राम रहेको छ। लागुऔषध र साइकलसहित नियन्त्रणमा लिइएका आलममाथि हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस