२०८३ असार २६ गते, शुक्रबार १४:५८

राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको वीर अस्पतालमा मृत्यु

काठमाडौँ

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको छ। वीर अस्पतालको बर्न सेन्टरमा उपचाररत नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको हो।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई र मृतकका दाइ मदन नेपालीले निधनको पुष्टि गरिसकेका छन्। यद्यपि, अस्पतालले भने निधनको औपचारिक घोषणा गर्न बाँकी रहेको छ।

महानगर प्रहरीसँगको विवादपछि आत्मदाहको प्रयास

भक्तपुरमा डेरा गरी श्रीमती र एक छोरीका साथ बस्दै आएका गणेश काठमाडौँ उपत्यकामा राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे। प्रत्यक्षदर्शीका अनुसार बिहीबार उनले रोकिराखेको मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले ह्विल लक लगाएर लैजाने प्रयास गरेपछि विवाद भएको थियो। महानगर प्रहरीको ज्यादती र सो क्रममा भएको विवाद सहन नसकी उनले राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।

घटनालगत्तै उद्धार गरी वीर अस्पताल पुर्‍याइएका उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। अस्पतालले आज बिहान १० बजे पत्रकार सम्मेलन गर्दै नेपालीको अवस्था अत्यन्तै चिन्ताजनक रहेको जानकारी दिएको थियो। उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली रिफर गर्ने तयारी गरिए पनि स्वास्थ्य अवस्था थप बिग्रने र यात्रा गर्न नसक्ने खतराका कारण रोकिएको केही बेरमै उनले अस्पतालमै प्राण त्यागेका हुन्।

अस्पताल परिसरमा सुरक्षा कडा, प्रधानमन्त्रीको सचिवालयद्वारा समन्वय

घटनापछि सम्भावित तनावलाई मध्यनजर गर्दै वीर अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ। प्रधानमन्त्रीको सचिवालयका सल्लाहकारसहितको टोली अस्पताल पुगेर मृतकका परिवारसँग आवश्यक समन्वय गरिरहेको छ।

यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का नवनियुक्त पदाधिकारी तथा अस्पतालका निर्देशकसँग पनि घटना र त्यसपछिको परिस्थितिबारे उच्चस्तरीय छलफल भइरहेको बुझिएको छ। स्वरोजगार मजदुरमाथि महानगर प्रहरीले गर्ने व्यवहार र यो आत्मदाहको घटनालाई लिएर सामाजिक सञ्जालमा समेत तीव्र आक्रोश र दुःख व्यक्त भइरहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस