२०८३ असार २६ गते, शुक्रबार १८:५३

अनलाइन ठगी गिरोहको बन्धकबाट ८३६ नेपालीको उद्धार

काठमाडौं –

दक्षिण-पूर्वी एसियामा सक्रिय अन्तर्राष्ट्रिय अनलाइन ठगी (स्क्यामिङ) गिरोहको जालमा फसेर बन्धक बनेका ८३६ जना नेपालीको उद्धार गरिएको छ। आकर्षक रोजगारीको प्रलोभनमा विदेश पुगेका नेपालीहरूलाई कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमावर्ती क्षेत्रमा सञ्चालित स्क्यामिङ सेन्टरमा बन्धक बनाएर अनलाइन ठगीमा संलग्न गराइएको खुलासा भएको छ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म कम्बोडियाबाट ७०९, म्यानमारबाट ११३, लाओसबाट ८ र थाइल्यान्डबाट ६ जना गरी ८३६ नेपालीको उद्धार गरिएको जानकारी दिए।

उनका अनुसार अधिकांश नेपालीलाई उच्च तलबको आकर्षक रोजगारीको प्रलोभन देखाएर दक्षिण–पूर्वी एसियामा पुर्‍याइएपछि उनीहरूको राहदानी नियन्त्रणमा लिई अनलाइन ठगी गर्ने गिरोहका लागि काम गर्न बाध्य पारिएको थियो। अस्वीकार गर्नेहरूलाई शारीरिक तथा मानसिक यातना दिइएको र केहीलाई बन्धक बनाएर परिवारसँग रकम माग्ने गरिएको विवरणसमेत नेपाली दूतावासहरूमा पुगेको मन्त्रालयले जनाएको छ।

प्रवक्ता पौडेलले कम्बोडिया सरकारले भिसा अवधि नाघेका नेपालीका लागि सहुलियत प्रदान गर्दै ६०२ जनाको भिसा शुल्क र जरिवाना मिनाहा गरिदिएको जानकारी दिए। कम्बोडियाबाट उद्धार गरिएका केही नेपाली स्वदेश फर्कन अझै अनिच्छुक रहेकाले उनीहरूका परिवारलाई नेपाल फर्काउन सहयोग गर्न विशेष आग्रहसमेत गरिएको उनले बताए।

परराष्ट्र मन्त्रालयले विदेशमा आकर्षक रोजगारीको प्रलोभनमा पर्नेअघि सम्बन्धित कम्पनी र रोजगार प्रक्रियाको यथोचित जानकारी लिन तथा वैधानिक माध्यमबाट मात्रै वैदेशिक रोजगारीमा जान सर्वसाधारणलाई आग्रह गरेको छ।

पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले आर्थिक कूटनीति सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको, नेपाल एक चीन नीति’ प्रति दृढ रहेको तथा नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने स्थापित नीतिमा सरकार अडिग रहेको पनि स्पष्ट पारे। साथै विभिन्न मुलुकका लागि राजदूत नियुक्ति प्रक्रिया अघि बढिरहेको र त्यससम्बन्धी जानकारी उपयुक्त समयमा सार्वजनिक गरिने उनले बताए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस