२०८३ श्रावण १ गते, शुक्रबार ११:४५

ट्रेडमार्क चोरीमा उद्योग सञ्चालक पक्राउ, तीन वर्षदेखि नक्कली ‘मार्वल’ पाइप बेच्दै आएको आरोप

सिरहा –

प्रतिष्ठित मार्वल कम्पनीको नाम र लोगो दुरुपयोग गरी नक्कली पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा जानकी प्लाष्टिक उद्योगका सञ्चालक नवल (नवकृष्ण) मुरारका पक्राउ परेका छन्।

प्रहरीका अनुसार गोलबजारस्थित हार्डवेयर पसलबाट मार्वल ब्रान्डका नाममा बिक्री भइरहेका सयौं नक्कली पाइप बरामद भएपछि अनुसन्धान अघि बढाइएको थियो। त्यसक्रममा धनुषाको लक्ष्मीनियास्थित जानकी प्लाष्टिक उद्योगमा छापा मार्दा थप नक्कली पाइप फेला परेपछि मुरारकालाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा मुरारकाले तीन वर्षभन्दा बढी समयदेखि मार्वलको नाम र लोगो प्रयोग गरी कवाड प्लास्टिकबाट बनेका पाइप महँगो मूल्यमा बिक्री गर्दै आएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ। घटनामा करिब दश जना अनुसन्धानको दायरामा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

मार्वल कम्पनीका प्रतिनिधिले बरामद पाइप आफ्नो आधिकारिक उत्पादन नभएको पुष्टि गरेपछि कम्पनीकै आग्रहमा कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ। मुरारकामाथि ट्रेडमार्क उल्लंघन, उपभोक्ता ठगी तथा बौद्धिक सम्पत्ति दुरुपयोग सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस