२०८३ श्रावण ४ गते, सोमबार ०३:०९

प्रेमिकालाई भेट्न बोलाइदिन माग गर्दै ८० मिटर अग्लो टावरमा चढे युवक

सर्लाही –

प्रेमिकालाई घटनास्थलमा बोलाइदिन माग गर्दै सर्लाहीको मलंगवामा एक युवक नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेपछि उनको सुरक्षित उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

गोडैता नगरपालिका–९, बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरमा रहेको ८० मिटर अग्लो टावरमा चढेका हुन्।

टावरमा चढेपछि हुसेनले आफ्ना एक साथीलाई फोन गरी आफू टावरमाथि रहेको जानकारी दिएका थिए। त्यसपछि उनका साथीले घटनाबारे सुरक्षा निकायलाई जानकारी गराएका थिए।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार प्रेम सम्बन्धका कारण मानसिक तनावमा रहेका हुसेनले आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाइदिन माग गरेका छन्।

“प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। उनलाई सम्झाइ–बुझाइ गरी सुरक्षित रूपमा उद्धार गर्ने प्रयास भइरहेको छ,” डीएसपी गौतमले भने।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी युवकलाई सुरक्षित रूपमा उद्धार गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस