काठमाडौं –
युक्रेनले रुसका विभिन्न क्षेत्रमा व्यापक ड्रोन आक्रमण गरेको छ। रुसी अधिकारीहरूका अनुसार रातभरि र शनिबार दिउँसो भएका आक्रमणमा नौजनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन्। समाचार संस्था एपीका अनुसार आक्रमणमा दुई ठूला गोदामसहित तेल डिपो र अन्य संरचनालाई निशाना बनाइएको छ।
युक्रेनी ड्रोनहरूले रुसको प्रमुख अनलाइन खुद्रा कम्पनी वाइल्डबेरिजका दुई विशाल गोदाममा आक्रमण गरेका छन्। तीमध्ये एउटा मस्कोको पूर्वमा रहेको एलेक्ट्रोस्टाल सहरमा र अर्को युक्रेनी सीमाबाट करिब ३६० किलोमिटर टाढा ताम्बोभ क्षेत्रको कोतोभस्क सहरमा रहेको छ।
युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई कमजोर पार्ने र युद्धको असर रुसी नागरिकसम्म पुर्याउने उद्देश्यले यस्ता आक्रमण तीव्र बनाएको बताइएको छ।
ताम्बोभ क्षेत्रका गभर्नर येभगेनी पेर्भिसोभका अनुसार कोतोभस्कस्थित गोदाममा रातिको सिफ्टमा काम गरिरहेका सात कर्मचारीको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
मस्को क्षेत्रका गभर्नर आन्द्रेई वोरोब्योभका अनुसार एलेक्ट्रोस्टालको उत्तरमा पर्ने नोगिन्स्क सहरस्थित एक तेल डिपोमा पनि युक्रेनी ड्रोनले आक्रमण गरेको छ। आक्रमणपछि ठूलो आगलागी भएको र नजिकैको प्रसूति अस्पताल तथा एक आवासीय भवन खाली गराइएको उनले बताएका छन्।
ड्रोनको भग्नावशेष एक बालविकास केन्द्रमा खसेपछि आगलागी भएको थियो। आगलागीलाई पछि नियन्त्रणमा लिइएको जनाइएको छ।
मस्को क्षेत्रमा मात्रै ६१ जना घाइते भएको गभर्नर वोरोब्योभले बताएका छन्। उनका अनुसार २० जनाले बाह्यरोगी सेवा लिएका छन् भने ४० जना अस्पतालमा भर्ना भएका छन्। उपचारका क्रममा एकजनाको मृत्यु भएको उनले जानकारी दिएका छन्।
यसैबीच, शनिबार दिउँसो बेलगोरोड क्षेत्रमा भएको अर्को ड्रोन आक्रमणमा थप एकजनाको मृत्यु भएको र एकजना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
वाइल्डबेरिजकी संस्थापक तात्याना किमले दुवै गोदाममा आगलागी भएको पुष्टि गर्दै कोतोभस्कस्थित गोदाममा लागेको आगो नियन्त्रणमा आइसकेको बताएकी छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत मस्को र ताम्बोभ क्षेत्रमा रहेका दुई महत्त्वपूर्ण लजिस्टिक केन्द्रमा सफल आक्रमण गरिएको बताएका छन्। उनका अनुसार ती केन्द्रहरू रुसले ड्रोन तथा नेभिगेसन उपकरण उत्पादनका लागि आवश्यक प्रतिबन्धित सामग्री आपूर्ति गर्न प्रयोग गर्दै आएको थियो। साथै, एउटा तेल प्रशोधन केन्द्रलाई पनि निशाना बनाइएको उनले बताएका छन्।
मस्कोबाट करिब १८० किलोमिटर पूर्वमा रहेको भ्लादिमिर सहरको एक आवासीय भवनमा पनि ड्रोन ठोक्किँदा सामान्य आगलागी भएको स्थानीय गभर्नर अलेक्जेन्डर अब्देयेभले बताएका छन्। उक्त घटनामा भने कुनै मानवीय क्षति नभएको जनाइएको छ।
राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनी विशेष सैन्य कारबाही आजोभ सागर तथा रुसको नियन्त्रणमा रहेका अन्य क्षेत्रमा पनि सञ्चालन गरिएको छ।
युक्रेनको जनरल स्टाफले नोगिन्स्कस्थित इन्धन डिपो रुसी सेनालाई इन्धन आपूर्ति गर्ने प्रमुख केन्द्र रहेको दाबी गरेको छ। साथै, ब्ल्याक सागर र आजोभ सागरमा रहेका रुसका दुई ट्यांकर, दुई तैरिने क्रेन र एउटा टगबोटलाई पनि निशाना बनाइएको जनाएको छ। ती साधनहरू तेल, इन्धन तथा सैन्य सामग्री ढुवानीमा प्रयोग हुँदै आएका थिए।
रुसी रक्षा मन्त्रालयले भने आफ्नो हवाई रक्षा प्रणालीले रातभरि रुसका १९ क्षेत्र, अवैध रूपमा गाभिएको क्रिमिया, आजोभ सागर र काला सागरको आकाशमा गरी ३७९ वटा युक्रेनी ड्रोन नष्ट वा ‘इन्टरसेप्ट’ गरेको दाबी गरेको छ।












